आगामी मार्च २७ मा आयोजना हुने ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो ।
सन् २०१९ यता ओस्कार होस्टविीिन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यसपटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।
सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।
पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), नील पेट्रिक हेरिस (२०१५), एलेन डीजेनरेस(२०१४), सेठ मेकफर्लेन(२०१३), बिली क्रिस्टल(२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे(२०११)ले होस्ट गरेका थिए ।
सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो । जसकारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो । यहीकारण ९४ औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।
यसपटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदैछ । गत वर्ष यो कार्यक्रम लसएन्जल्सको यूनियन स्टेसनबाट प्रसारण गरिएको थियो । ओस्कर मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वको दुई सयभन्दा अधिक स्थानमा देखाइनेछ । आयोजकका अनुसार ग्लेन वीस लगातार सातौंपटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यो वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।