काठमाडौं, १६ माघ
व्यास नगरपालिका-८ पुलिमराङ गाउँको सिरानमा सहिद पार्क बन्दैछ । पार्कको स्मारकमा सहिद भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै सहिद पुलिमराङको माटोले जन्माएको हो । जो राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिए, शहादत प्राप्त गरे ।
१ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गरे । राणा शासनको दमनविरुद्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा होमिएका पुलिमराङको ठिटोको रगतले बन्दीपुरे भूमि पोतियो । र, क्रान्तिमा होमिएको एउटा छोरा पुलिमराङले गुमाउनुपर्यो । धर्मध्वजहरूले चाहेजस्तै राणा शासन त अन्त्य भयाे। र, प्रजातन्त्र स्थापना पनि भयाे ।
फेरि २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था लागूभयो । धर्मध्वजले देखेको सपना अधूरै हुने देखियो । र, धर्मध्वज गुमाएका माटो चुपचाप बस्न चाहेन । देशको विकास र परिवर्तनका खातिर यहाँका युवामा क्रान्तिको ज्वाला झनै दन्कियो । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको क्रान्तिमा लाग्न थाले ।
२०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाईँमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो । त्यो लडाँइमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो । २०१८ मा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले कोत्रेमा शहदात प्राप्त गरे । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको लडाईँमा पुलिमराङ गाउँका ६ जना सहिद बने ।
व्यवस्था परिर्वतनको लडाईँमा होमिएर ६ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास अझै भएको छैन । राजनीतिक खिचातानीले देशका लागि कुर्वानी दिएका सहिदको वलिदानीको उपेक्षा भएको बताउँछन् स्थानीय । न राज्यले पुलिमराङलाई सम्झेको छ, न कुनै पार्टीले नै । राज्य र पार्टी दुवैको उपेक्षामा छ सहिद गाउँ पुलिमराङ ।
गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुदा गुज्लार गाउँ रित्तिएको छ । बुढापाकाले मात्र घर रुँघेर बसेका छन् । बसाईसराईंले युवा पुस्ता गाउँमा देख्न मुस्किल हुन्छ । विद्यालयमा विद्यार्थी वर्षेनि घटेर कुनै दिन बन्द नहोला भन्न सकिदैन् ।
‘एउटै गाउँका ६ जना सहिदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको त मुल फुटाउनुपर्ने थियो, पुलिमराङवासीको अपेक्षा थियो । तर त्यो अपेक्षा पुरा भएन दशकौँसम्म पनि । राज्यसत्ता र पार्टीले पुलिमराङलाई देखेन,’ स्थानीय टेकबहादुर गुरुङले भने ।
‘गाउँमा विकास गर्नलाई नेताले कुरा बुझेनन् । आज सबै हानालुछमा व्यस्त छन् । राम्रो भन्ने छैन्, हाम्रो भन्ने छ । यदि सबैले चाहेको भए यो गाउँमा नहुने कुरा के थियो र ?,’ उनले भने, ‘सहिद परिवारले र गाउँले केही त पाओस् न ।’
सहिद परिवार र गाउँको पहिचान राज्यले गर्न नसकेको उनको बुझाई छ । राज्यले सहिद गाउँको अपहेलना गरेको हो त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिलेसम्म त अपहेलना नै गरेको हो । शहिद स्मारक बनाउन समेत धेरै दुख गर्नुपर्याे हामीले । अरु कुरा त के गर्ने !’
टेकबहादुरका अनुसार सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गरेका थिए । २९ चैत २०५१ मा पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएको बेला कोइरालाको तदारुकतामा समिति बनेको थियो । ‘समितिमा कोही कहाँका कोही कहाँका मान्छे राखियो । भागबण्डमा बैठक समेत बस्न नसक्ने गरेर मान्छे राखियो । बैठक त बस्न नसक्ने समितिले कसरी पार्क बनाउथ्यो र’, उनले सुनाए ।
२०६६ मा बल्ल गाउँमा सहिद स्मारक बनाएर ६ जना सहिदको अर्धकदको सालिक ठडियो । ती शालिकको झण्डै एक दशकसम्म त अनावरण नै भएन । अनवारण मात्रै नभएको होइन् त्यो अवधिमा सहिदका शालिकले ओतसमेत पाएननन् । २०७५ मा सहिद दिवसको दिन शालिक अनावरण गरिएको हो । अनावरणसँगै सहिद स्मारक भवनले पूर्णता पनि पाएको छ ।
४२ रोपनि क्षेत्रफलमा फैलिएको सहिद पार्कलाई आकर्षक बनाउन आठ करोड ६७ लाख रुपैयाँको वृहत गुरुयोजना तयार पारेको सहिद स्मारक पार्क संरक्षण तथा निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । गुरुयोजना अनुसार काम गर्न बजेटको अभाव भएको उनले बताए । ‘व्यास नगरपालिकाले वर्षेनि १० देखी २५ लाख रुपैयाँसम्म बजेट दिएको छ । तर त्यो रकम पर्याप्त हुँदैन । पर्खाल लगाउने, जग्गा सम्याउने, भवन र शौचालय बनाउने काम भइरहेको छ’, उनले भने ।
संघीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट दिने प्रतिबद्धता जनाएको गुरुङले उल्लेख गरे । ‘यो बजेट आयो भने गुरुयोजना अनुसार काम गर्न सुरुवात हुन्छ होला’, उनले भने ।
‘सुन हे साथी अमर धर्मध्वजको कहानी
देशका लागि कुर्वानी भयो कलिलो जवानी
जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा ….’
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी कविताका हरफले भनेजस्तै धर्मध्वजहरुको कहानी केवल कहानीमै सीमित बनेको छ । धर्मध्वजहरुको बलिदानीलाई सार्थक बनाउन जुट्नुपर्ने सत्ताको मातमा लिप्त भएका छन् । परिवर्तनको नारा बिर्सिएका छन् ।
‘नेता स्वार्थी भइदिए । यहाँ कुनै कार्यक्रममा भयो भने आएर सहिदको नाम जप्छन् । यहाँबाट गएपछि फर्केर आउदैनन् । टुलुक्क हेर्दैनन्’, सहिद परिवारका सदस्य भुपालजंग गुरुङ बताउँछन् । चुनाव आएपछि मात्र सहिद सम्झिदै नेताले ‘इमोस्लनल ब्ल्याकमेलिङ’ गर्ने उनको भनाइ छ ।
१६ माघ अर्थात सहिद दिवसको दिन मात्रै राज्यपक्ष पुलिमराङ पुगेर सहिदको शालिकमा माल्यार्पण गर्ने र उनीहरुको योगदानलाई स्मरण गर्ने काम हुन्छ । वर्षमा एक दिन मात्र सहिदको योगदानलाई स्मरण गरेर राज्य पन्छिन् नमिल्ने सहिद धर्म आधारभूत विद्यालयका प्रधानध्यापक खड्ग गुरुङले बताए ।
पुलिमराङ प्रवर्द्धन गर्न भन्दै व्यास नगरपालिकाले वर्षेनि सहिद दिवसको दिन व्यास अल्ट्रा म्याराथन गर्दै आएकाे छ । व्यास–५ मानहुँकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरीको म्यारथन गर्दै सहिदलाई सम्झने गरिएको यसपटक कोरोनाका कारण स्थगित छ ।