२०७९ वैशाख २९ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने जनाएको छ। शुक्रबार बसेको आयोग पदाधिकारीको बैठकले वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।

तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो ।माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष उमेर पुग्ने नागरिक मतदाता हुने निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्