मतदाता नामावली अद्यावधिक गरिँदै, चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान

चितवन, १६ फागुन 

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।

‘मतदाता नामावलीमा दर्ता भएका १८ वर्षमुनिका व्यक्तिको नाम हटाएर आयोगले हामीकहाँ पठाएको छ । अब त्यसलाई अद्यावधिक गरेर पुनः आयोगमा पठाउछौँ । त्यसपछि मात्र आयोगले फोटोसहित मतदाताको अन्तिम नामावली प्रकाशन गर्छ’, उनले भने । नामावली अद्यावधिक गर्दा करिब २०० को हाराहारीमा मतदाता संख्या थप/घट हुन सक्ने उनले बताए ।

निर्वाचन आयोगले आगामी २९ वैशाखसम्म पनि १८ वर्ष नपुग्ने मतदाता नामावलीमा दर्ता भएका व्यक्तिको नामावली हटाएर जिल्लामा पठाएको छ । चितवनमा त्यस्ता मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ रहेको छ । ४ चैत २०७७ सम्म चितवनमा तीन लाख ६८ हजार ३८२ मतदाता थिए ।

पछिल्लो पाँच वर्षमा ८६ हजार ८६८ मतदाता थपिएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनका बेला चितवनमा तीन लाख १३ हजार तीन मतदाता थिए । निर्वाचनमा दुई लाख ४० हजार ११४ जना अर्थात् ७६.७१ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।

निर्वाचन कार्यालयका अनुसार २९ वैशाखसम्म १८ वर्ष पूरा हुने मतदाताहरु भरतपुर महानगरमा एक लाख ८६ हजार ६७०, रत्ननगरमा ५२ हजार ८३९, खैरहनीमा ४३ हजार ७०८ र कालिकामा ३१ हजार ४०७ रहेका छन् । त्यस्तै, राप्तीमा ४० हजार ९६८, माडीमा २८ हजार ४९३ र इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् ।

मतदाताको नामावली अद्यावधिक गर्न तथा कुनै दाबी विरोध भए उजुरी गर्न निर्वाचन कार्यालयले आह्वान गरेको छ । अद्यावधिक तथा दाबी विरोधको कार्यक्रमको सूचना तथा मतदाता नामावली यही १९ फागुनसम्ममा स्थानीय तह, नापी, मालपोत कार्यालयलगायतका स्थानमा टाँसिने उनले बताए । 

त्रुटि सच्याउन वा कसैले झुटा विवरण दिएर मतदाता नामावली दर्ता गरेमा उजुरी गर्न २० देखि २२ फागुनभित्र निर्वाचन कार्यालयमा निवेदन दिन उनले आग्रह गरे । कसैको मतदाता परिचय पत्र हराएको छ भने पनि सम्बन्धित वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।

मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नामावली हटाउन २० देखि २३ फागुनसम्म एकाघरको सदस्य वा अन्य कुनै व्यक्तिले निर्वाचन कार्यालयमा सूचना दिनसक्ने छन् । 

सामान्यत निर्वाचनको तयारी गर्नका लागि निर्वाचन आयोगले १२० दिनको समय माग्छ । यस पटक स्थानीय तहको निर्वाचन गर्न ९४ दिन मात्रै पाएकाले अद्यावधिक गर्ने कार्यक्रमका लागि समय कम राखिएको निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए ।

सरकारले गएको २४ माघमा स्थानीय तहको निर्वाचको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता संकलनको काम रोकिएको हो । 

आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदान केन्द्रको संख्या ४५५ पुग्ने अनुमान गरिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १६१ वटा मदतान स्थल र ४०८ वटा मतदान केन्द्र थिए । यस पटक ४७ वटा मतदान केन्द्र थपिने अनुमान गरिएको उनी बताउँछन् ।

एउटा मतदान स्थल भित्र सात वटासम्म मतदान केन्द्र रहने उनले बताए । एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाताले मतदान गर्न पाउने गरी व्यवस्था मिलाइने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्