नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाख ३० मा हुने निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने बताउनुभएको छ।
अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले फेरी एमालेको बैशाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्न आग्रह गर्नुभएको छ। प्रचण्ड र माधव नेपाल निर्वाचन सार्ने षड्यन्त्रमा रहेको भन्दै निर्वाचन सार्न दैनिक रुपमा प्रधानमन्त्रीलाई दवाव दिइरहेको पोखरेलले बताउनुभयो।
शुक्रबार जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न धादिङबेसी आउनुभएको बेला प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।
माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि नभएको भन्दै निर्वाचन सार्ने अनेकन प्रकारका हतकण्डा प्रयोग गर्न खोजिएकाले एमालेले खबरदारी गर्ने बताउनुभएको छ।
प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गर्नुभएको छ।अब प्रचण्ड–माधवसँग एमालेको एकता नहुने तर कार्यकर्तालाई भने एमालेमा फर्काइने पनि बताउनुभयो।
पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका प्रचण्ड र नेपालले धोका दिएको उहाँले आरोप लगाउनुभएको छ। लुम्बिनी प्रदेशमा पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरी जिताइदिनुपर्ने जिम्मेवारी नबोकेका भन्दै एक पटक कम्तीमा प्रचण्ड र मावध नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहेको बताउनुभयो।
देशमा अहिले समाजवादको बाटोतर्फ देशलाई डो¥याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु काँग्रेसतिर देखिएको पनि उहाँले आरोप लगाउनुभयो।
अब एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने महासचिव पोखलेलले जिकिर गर्नुभयो।उहाँले अहिलेको सरकार सरकार जस्तो नभएकोले देशको अर्थतन्त्रलाई कमजोर पारेको समेत आरोप लगाउनुभयो।