मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिनुभयो। ’उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको र यसबारे अनुसन्धान भर्ईरहेको जिसीले बताउनुभयो।
लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले झडपमा घाइते भएका प्रहरी जवानको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ।