धादिङ,२९ चैत।
धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सरकारी गाडी फिर्ता गर्नुभएको छ।अध्यक्ष सिलवाल र उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले प्रयोग गर्दै आउनुभएको बा २ झ ३८१२ नम्बरको बोलेरो गाडी सोमबार फिर्ता गर्नुभएको हो।
गाडीको चाबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई हस्तान्तरण गर्नुभएको हो। स्थानीय निर्वाचनको मिति नजिकिएसंगै पार्टीको कार्यक्रममा समेत जानुपर्ने भएकोले सरकारी गाडी फिर्ता गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।
सवारी साधन फिर्ता गरेपछि निजि मोटरसाइकलमा गाउँपालिका कार्यालय जाने गरेको सिलवालले बताउनुभयो। वडाअध्यक्षहरुलाई सरकारी मोटरसाइकल उपलब्ध नगराउने एकमात्र गाउँपालिका सिद्धलेक भएको भन्दै लोकप्रियता कमाउन भन्दा पनि आर्थिक व्ययभार काम गरेर सिद्धलेकबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यताले यातयात खर्च कटौती गरेको सिलवाल भनाई छ।
उहाँले आफूले सेवा लिन भन्दा पनि निस्वार्थ हिसावले जनताको हित र सेवाको लागि निर्वाचित भएकाले सेवाग्राहीमाथि आर्थिक व्ययभार कम गर्नु मुख्य उद्धेश्य रहेको बताउनुभयो। नेकपा एमाले सिद्धलेकले गाउँपालिकाको अध्यक्षमा पुनः सिलवाल र उपाध्यक्षमा शर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
एमालेले जितेको खण्डमा बिशेषगरी खानेपानी,सडक स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर ५ वर्षसम्म पुरा नभएका योजनाहरु अबको ५ वर्षमा पुरा गर्ने सिलवालले बताउनुभयो ।
नयाँ चुनावी एजेन्डा नभएपनि आफुले थालनी गरेका योजनाहरुलाई पुरा गर्ने, सिद्धलेक भित्रको ६० किलोमिटर बाटो कालोपत्रे गर्ने, खानेपानी तथा कृषिको छुट्टै शाखा बनाएर कार्म गर्ने, उत्पादनमा आधारित कृषि अनुदानलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष सिलवालको भनाई छ।
हाल गाउपालिका अध्यक्ष रहनुभएका सिलवाल एमाले धादिङका जिल्ला कमिटी सदस्य हनुहुन्छ भने हाल पालिका उपाध्यक्ष रहनुभएकी शर्मा एमाले सिद्धलेक गाउपालिका कमिटीको अध्यक्ष हुनुहन्छ।