काठमाडौं, २६ जेठ ।
तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावल रहेकी छन् । उनको बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर र को.५ प २३३० नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकै श्रीमती २६ वर्षीया कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिक रहेकी छन् ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला रहेकी छन्। उनको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।