निदाएको बेला अत्यधिक घुर्ने समस्या धेरै मानिसमा देखिने, वास्ता नगरिएको तर दीर्घकालीन समस्या ल्याउने रोग हो। सामान्यताः १०० जनामध्ये ५ देखि १५ प्रतिशत मानिसमा यो समस्या देखिन्छ। निन्द्रामा ठूलो आवाजले घुर्नु र सुतेको बेला बीच–बीचमा केही समयका लागि श्वास नफेर्नु र यही प्रक्रिया रातभर दोहोरिइरहनु यो रोगको प्रमुख लक्षण हो।
यो समस्या किन हुन्छ ?
– श्वास फेर्ने नली सानो हुनु, त्यसलाई स्थिर राख्ने मांसपेसीहरु कमजोर हुनु यो रोगका कारक हुन्।
– जब श्वास नली सानो हुन्छ र सानो श्वास नलीबाट हावा जाँदा आवाज आउँछ, त्यही आवाज घुराइ हो।
– मानिस जागेको समयमा श्वास फेर्ने नली शरीरको अधिनमा हुन्छ, जसले गर्दा श्वास फेर्ने नली खुम्चिन पाउँदैन तर सुतेको समयमा नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेसीहरु शरीरको अधिनमा हुँदैनन्। त्यसैले सुतेको समयमा पहिलेदेखि नै सानो भएको श्वास नली पूरै बन्द हुन जान्छ।
– श्वास नली पूरै बन्द भयो भने फोक्सोमा हावाको प्रवाह रोकिन्छ, जसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ।
– जब शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, यसलाई दिमागले बुझ्छ र मानिस एक्कासि केही क्षणका लागि ब्युँझिन्छ।
– ब्युँझिएपछि दिमागले श्वास नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेसीहरुलाई फेरि आफ्नो अधिनमा राख्छ अनि श्वास नली खुला हुन्छ र श्वास लिने र फाल्ने क्रम फेरि जारी हुन्छ, जसले गर्दा हाम्रो फोक्सोमा अक्सिजन पुग्छ।
– अक्सिजनको मात्रा कमी भएर हामी ब्युँझिएको कुरा प्रायः हामीले थाहा पाउँदैनौं तर यो प्रक्रिया रातभर चलिरहन्छ।
– यस प्रकारले घुर्ने, श्वास फेर्न बन्द हुने, रगतमा अक्सिजन कम हुने र दिमागले शरीरलाई ब्युँझाएर फेरि श्वास–प्रश्वास नियमित बनाउने प्रक्रिया सुतेको बेला रातभर चलिरहन्छ।
– सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्युँझिरहनाले, बिहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकान भइरहन्छ र दिनभरि पनि थकान महसुस हुँदा काम गर्ने जाँगर हुँदैन, जसले हाम्रो दिनचर्यामा शिथिलता आउँछ।
लक्षण
– सुतेको समय ठूलो आवाजले घुर्नु।
– सुतेको समय, बेला–बेलामा केही क्षणका लागि श्वास फेर्न बन्द हुनु, अनि केही समयपछि फेरि श्वास फेर्नु।
– घाँटीमा श्वास अड्केर सुतेको बेला उठ्नु।
– बिहान उठ्दा टाउको दुख्नु, भारी हुनु।
– बिहान उठ्दा घाँटी सुख्खा हुनु।
– बिहान उठ्दा निन्द्रा नपुगेको÷थकाइ नमरेको अनुभव हुनु।
– दिउँसो धेरै निन्द्रा लागिरहनु÷निदाउनु।
– राति सुतेको बेला घरीघरी ब्युँझिरहनु।
– राति बारम्बार पिसाब फेर्न गइराख्नु।
– पढ्दा, टिभी हेर्दा, मिटिङमा निन्द्रा लाग्नु।
– समस्या धेरै बढ्दै गयो भने गाडी हाँक्दा, काम गर्दा, गफ गर्दा पनि निदाउने हुनु।
– निन्द्रा नपुगेको कारणले चिडचिड हुने, बानी व्यहोरा परिवर्तन हुनु।
– स्मरण शक्ति कमजोर हुँदै जानु।
– यौन दुर्बलता हुनु।
– मुटुको समस्या हुनु अथवा औषधि खाँदा–खाँदै पनि यो समस्या राम्ररी कन्ट्रोल नहुनु।
कारण
सामान्यतयाः यो समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। विभिन्न कारणमध्ये धेरै बिरामीमा देखिने कारण तल उल्लेख गरिएको छः
– यो समस्या मोटा मान्छेमा सामान्य मान्छेभन्दा धेरै भेटिन्छ। (जिब्रोमा जम्मा हुने बोसोले जिब्रो ठूलो हुन्छ, जसले श्वास फेर्ने बाटो सानो बनाउँछ)
– नाकमा केही समस्या छ भने मुखले श्वास फेर्नुपर्ने हुन्छ। मुखबाट श्वास फेर्दा, जिब्रो पछाडि धकलिने भएकाले मुख खोलेर श्वास फेर्ने मानिसमा श्वास नली सानो हुन्छ।
– टन्सिल ठूलो भएमा त्यसले श्वास नली/हावा जाने बाटो सानो बनाउँछ।
– अनुहारमा हड्डी, माथिल्लो र तल्लो च्यापुहरु सानो भएमा त्यसले श्वास फेर्ने बाटो सानो बनाउँछ।
के–के जाँच गर्ने ?
१. स्लिप स्टडी
यो जाँचले राति सुतेको समयमा
– सास फेर्न कति चोटी बन्द हुन्छ भनेर देखाउँछ।
– कति चोटी ब्युँझिन्छ भनेर देखाउँछ।
– शरीरमा अक्सिजन लेभल कतिसम्म घट्छ भनेर देखाउँछ।
– अक्सिजन लेभल घटेर मुटुको इसिजीमा के परिवर्तन आउँछ भनेर देखाउँछ।
– निन्द्राको गुणस्तर, घुराइको आवाजको लेभल कति ठूलो हुन्छ भनेर देखाउँछ।
२. इन्डोस्कोपीः नाक र घाँटीको
३. एक्स–रे, सिटी स्क्यान, एमआरआईः आवश्वयक परेमा
उपचारका विकल्प
१. सामान्य घुर्ने र माइल्ड अब्स्ट्रक्टिभ स्लिप एपनियाका लागि साधारणतयाः निम्नलिखित उपाय उत्तम हुन्छन्ः
– वजन (तौल) कम गर्ने
– चुरोट, रक्सी नखाने
– निदाउन मद्दत गर्ने औषधि नखाने
– कोल्टे वा घोप्टो परेर सुत्ने
– नियमित व्यायम गर्ने।
– चिकित्सकले नाक खोल्न मद्दत गर्ने, दिएको औषधि नियमित रुपले प्रयोग गर्ने।
२. मध्यम र उच्च अब्स्ट्रक्टिभ स्लिप एपनियाका लागि
– माथि लेखिएको सामान्य घुर्ने र माइल्ड अब्स्ट्रक्टिभ स्लिप एपनियाका लागि दिइएका सबै सुझाव अनुसरण गर्ने।
– नाक र घाँटीका विभिन्न अपरेसनहरु गरेर साँघुरिएको श्वास फेर्न बाटो ठूलो र सामान्य बनाउने।
– सिपिएपी प्रयोग गर्ने।
सिपिएपी के हो र कसरी मद्दत गर्छ?
सिपिएपी एउटा मेडिकल डिभाइस हो, जसले कोठामा भएको हावालाई नाकको बाटो हुँदै घाँटीबाट फोक्सोसम्म पुर्याउन मद्दत गर्छ।
यो मेसिनबाट पठाउने हावामा मध्यम चाप हुने हुनाले त्यसले सुतेको बेलामा श्वास फेर्न नलीलाई बन्द हुन दिँदैन। यो खतरामुक्त उपकरण हो। यो सुतेको बेला मात्र प्रयोग गर्नुपर्छ।
उपचार गरेन भने के हुन्छ ?
यसरी हरेक रात शरीरमा अक्सिजनको मात्रा कम हुने प्रक्रिया जारी रह्यो भने दीर्घकालीन रुपमा धेरै समस्या आउँछन्। जस्तैः
१. सुतेको बेलामा बारम्बार थाहा नपाई रातभर ब्युँझिरहनाले बिहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकान भइरहन्छ। दिनभर पनि थकान महसुुस हुन्छ र काम गर्ने जाँगर हुँदैन, जसले दिनचर्यामा शिथिलता आउँछ।
२. बिहान उठ्दा टाउको भारी भइरहन्छ, दिनमा पनि टाउको दुख्ने हुन्छ।
३. स्मरण शक्ति कम हँुदै जान्छ, एन्जाइटी र डिप्रेसन हुन्छ।
४. दिउँसो धेरै निन्द्रा लाग्छ, काममा ध्यान कम लाग्छ, आफूलाई आफ्नो कार्यक्षमता कम हँुदै गइरहेको अनुभव हुन्छ।
५. झन्–झन् मोटाउँदै गइन्छ।
६. सवारी साधन दुर्घटनाः लामो दूरीका सवारी चालकलाई यो समस्या छ भने दुर्घटना हुने सम्भावना २०० प्रतिशत धेरै हुन्छ।
७. ग्यास्ट्रिकको समस्या देखा पर्छ÷भएको समस्या बढ्छ÷औषधि खाँदा पनि राम्ररी कन्ट्रोल हुँदैन।
८. मुटुको समस्या हुने सम्भावना समान्य मानिसलाई भन्दा धेरै हुन्छ।
९. पक्षघात हुने सम्भावना सामान्य मानिसलाई भन्दा धेरै हुन्छ।
१०. औषधि खाँदा–खाँदै पनि प्रेसर, सुगर, ग्यास्ट्रिक जस्ता रोग राम्ररी कन्ट्रोल हँुदैन।
११. आँखामा जलविन्दु÷आँखाको नशा सुक्ने सम्भावना सामान्य बिरामीलाई भन्दा धेरै हुन्छ।
१२. यौन इच्छा कम हुँदै जान्छ, यौन दुर्बलता÷अक्षमता हुन्छ।
१३. अकालमा मृत्युः यो रोगका बिरामीहरु साधारण मानिसभन्दा चाँडै मर्ने सम्भावना ४० प्रतिशत धेरै हुन्छ।
धेरै घुर्ने समस्या के हो र किन हुन्छ ?
– यदि श्वास–प्रश्वासको नली साँघुरियो भने हामीले फेरेको श्वास साँघुरो बाटोेबाट जानुपर्छ।
– जब हावा साँघुरो बाटोबाट जान्छ, त्यसले आवाज निस्कन्छ, त्यही आवाज घुराइ हो।
– यदि हामी घुर्छौं भने सुत्दा श्वास नली साँघुरिदो रहेछ, साँघुरिएको नलीबाट हामीलाई चाहिने मात्रामा हावा नजाँदो रहेछ र शरीरले पूर्ण रुपले पाउनुपर्ने अक्सिजन पाउँदैन रहेछ भन्ने बुझ्नु पर्छ।
भ्रम
– हामी धेरै थाक्यौं भने घुरिन्छ र त्यो सामान्य हो।
– कोही मान्छे घुरेर सुतिरहेको छ भने आहा कति राम्रो निन्द्रा परेको यो मान्छेलाई भनेर बुझ्नु।
– म घुरे पनि ओछ्यानमा जाने बित्तिकै निदाउँछु, मलाई समस्या नै छैन भन्नु।
– उमेर बढ्दै गएपछि घुर्नु सामान्य हो र यसले हाम्रो शरीरलाई केही असर गर्दैन भन्नु।
– घुर्नु त हाम्रो वंशाणुगत हो, हाम्रो परिवारमा सबै घुर्ने गर्छन्, यसले हामीलाई केही बिगारेको छैन भन्नु।
सत्य
– घुर्ने समस्या दीर्घकालीन रोग हो।
– यसले दुख्ने, पोल्ने नगर्ने भएकाले वास्ता नगरिएको हो।
– यसको समयमा उपचार गर्नुपर्छ।
– घुर्नु र यस सम्बन्धी समस्याहरु संसारको एक नम्बरको स्वास्थ्य समस्या हो।
– प्रेसर, सुगर, मुटुको रोग जस्ता अरु दीर्घकालीन रोग कन्ट्रोल नहुनुको एक नम्बर कारण घुर्नु र योसँग सम्बन्धित समस्या हो।
(डा न्यौपाने ओटोल्यारेन्जोलोजिस्ट र हेड एन्ड नेक सर्जन हुन्।)