धादिङ,२३ साउन ।
धादिङको नीलकण्ठ नगरपालिकाले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालनको लागि अनुमति पाएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट स्विकृति प्राप्त भएसँगै कक्षा सन्चालनको लागि बाटो खुलेको हो ।आईतबार नगर प्रमुख भीम प्रसाद ढुंगाना,उप प्रमुख दीपक विश्वकर्मा सहिको टोलीले अनुमति प्राप्त भएको चिठ्ठी बुझ्नु भएको छ ।
पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ (स्पेसल हाइड्रो पावर) ४० र अटोमोबाइल २४ सिटमा यसै शैक्षिक सत्रबाट कक्षा सुरु गरिने भएको छ । फार्मेसी चिकित्सा शिक्षा भने आयोगको केहि प्रकृया पुरा गरेपछि मात्र सन्चालन गरिने भएको छ ।
भौतिक पुर्वाधार कक्षा,कोठा,प्रयोगशाला्कार्यशालाहरु,पुस्तकालय,मानव संसाधन र प्रयोगात्मक अभ्यासको सम्पुर्ण तयारीको लागि नीलकण्ठ नगरपालिकाले १ करोड ५० लाख रुपैँया बिनियोजित गरिसकेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो ।
निर्वाचन अघि आफुहरुले गरेको प्रतिबद्धता र जनताको चाहना, समयसापेक्ष शिक्षाको मागअनुरुप बहुप्राविधिक शिक्षालय सन्चालनमा ल्याईएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । ढुंगानाले भन्नुभयो,‘हिजो हामीले जनतासँग जुन जीवनोपयोगी, सीपमूलक शिक्षा बनाउने प्रतिबद्धता जाहेर गरेका थियौँ, त्यहीअनुरुप एक कदमअघि बढेका हौँ’ ।अब सम्बन्धन पाइसकेका छौँ’, ढुंगानाले भन्नुभयो, ‘बाँकी भौतिक पूर्वाधार जनशक्तिको काममा अघि बढ्छौँ ।’
नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालनको अनुमति पाउनु र यसै आर्थिकबर्षबाट कक्षा सन्चालन हुनु गौरवको कुरा भएको नगर उप प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो । आफ्नो एक दशकको सपना पुरा भएको भन्दै उप प्रमुख दीपक विश्वकर्माले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । बाहिर गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्ने भन्दै विश्वकर्माले यसले दक्ष जनशक्ति समेत उत्पादन हुने बताउनुभयो ।