साथिहरुको अगाडी गाली गरेको भन्दै विद्यालय छोडेकाहरु भन्छन्ʻ,पिटाईले भन्दा गालीले हाम्रो मन दुख्छʼ

रामकुमार थापा
धादिङ,६ भदौ ।

घट्ना १
धादिङबेसीको एक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षकले कक्षाकोठामा गरेको गालीकै कारण विद्यालय छाड्न बाध्य भए । कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई शिक्षकले साथिहरुको अगाडी नराम्रो कमेन्ट गरेको कारण पढाई सुरु भएको २ महिनामै विद्यालय छाडे ।

कक्षा कोठामा शिक्षकले कि मोबाईल हेर्न छोड कित विद्यालय आउने भए सधै आउने नत्र नआएपनि हुन्छ भनेकै कारण उनी विद्यालयनै गएनन्। मोबाईल बढी चलाएको कारण खत्तमै भईस भनेर साथिहरुको अगाडी अब यसले केहि गरेर खान सक्दैनन् भनेको ती विद्यार्थी सम्झन्छन् । साथिहरुको अगाडी नराम्रो गाली गरेपछि उनलाई भावनात्मक असर पर्यो । पढाई विचमै छाडे ।

घट्ना २
एक सामुदायिक विद्यालय कक्षा १० मा पढ्ने विद्यार्थीलाई शिक्षिकाले नराम्रो गालि गरेको कारण उनीपनि विद्यालय छाड्ने सोचमा छन् । सबै साथिहरुको अगाडी यसले गर्दा विद्यालयका सबै विद्यार्थी बिग्रियो भन्दै कक्षा कोठामा नराम्रो गाली गरेपछि उनी विद्यालय जान छाडीसकेका छन् ।

उनीसँगै पढ्ने अन्य २ जना साथिहरुले शिक्षक शिक्षिकाहरुकै कारण अन्यन्त्र विद्यालयमा पढ्न जान थालेका छन् । उनी पनि पढ्न जान छाडीसकेका छन् । एसईइ आउन केहि महिना मात्र बाँकि छ तर उनी पढ्ने सोचमा छैनन् । विद्यालयमा गरिने व्यवहारको कारण विद्यालय र पढाई प्रतिनै ध्यान जान छाडेको उनले बताए ।

माथिका घट्ना प्रतिनिधि पात्र मात्र हुन् । विद्यार्थीलाई डर त्रास देखाइ नियन्त्रण गरेर मात्र सिकाउन सकिन्छ भन्ने गलत मान्यताले गर्दा धेरै विद्यार्थीहरुले मानसिक तथा शारिरीक यातना भोग्न बाध्यछन् ।

शारीरिक सजाय तथा कुटपिटले कुनै पनि दुर्व्यवहार नरोक्ने एवम् राम्रो खालको व्यवहार प्रोत्साहित नगर्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । तर अझै पनि विद्यार्थीहरुलाई पिटेर र गालि गरेरै तह लगाउन सकिन्छ भन्ने सोच हटेको छैन । शारीरिक यातनाले त विद्यार्थीमा मनोवैज्ञानिक असर पु¥याउने हुँदा विद्यार्थीलाई कुट्नु र गालि गर्नु घातक हुन्छ ।

विद्यालयमा गरिने शिक्षक शिक्षिकाको व्यवहारको कारण विद्यार्थीहरुले विद्यालय छाडीरहेका छन् । तर त्यसको कुनै लेखाजोखा छैन । सिकाइका विभिन्न माध्यमहरू भएतापनि अझैपनि विद्यालयमा विद्यार्थीहरुलाई सुधार्ने भन्दै पिट्ने र गालि गर्ने चलन छ । जुन खबर चलन हो । विद्यार्थीहरुको मनोभावना नबुझेर गरिने यस्ता कार्यको कारण धेरै विद्यार्थीहरुको भविष्य बिग्रीएको छ ।

सामान्यतया विद्यार्थीहरू कहिले गृहकार्य नगरेको निहुँमा, हल्ला गरेको, चकचक गरेको, मोबाईल हेरेको, समयमै उपस्थिति नभएको जस्ता विभिन्न बाहानामा पिटाइ खान बाध्य छन् । बालबालिकाहरुको स्वभाव चिन्न नसकेको कारण शिक्षकहरुलाई त्यो व्यवहार समस्या लागेर यातना दिने चलन छ । पिट्नु भन्दा पनि मानसिक रुपमा दिईने यातना बढी भयानक हुने तथ्यांकहरुले देखाएको छ ।

विद्यालयमा शिक्षक शिक्षिकाले दिईने शारीरिक तथा मानसिक यातनाबाट मानसिक एवम सामाजिक विकासमा अवरोध सिर्जना भएको छ । यसैले गर्दा बालबालिकाहरुलाई मनोबैैज्ञानिक समस्याहरु देखिने गर्छ । विद्यालयमा गरिने नकारात्मक व्यवहारको कारण विद्यार्थीहरुमा डिप्रेसन , चिन्ता रोग, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, स्मरणशक्ति कमजोर, निन्द्रामा समस्या हुने जस्ता नकारात्मक प्रभावहरु देखिन थालेको छ ।

युनिसेफको रिपोर्ट अनुसार नेपालमा १ देखि १४ वर्ष उमेर समूहका १० मध्ये ८ बालबालिकाहरु अर्थात् ८० प्रतिशत बालबालिकाहरु शारीरिक एवम् मानसिक हिंसा भोग्न बाध्यछन् । रिपोर्ट केहि बर्षअघिको भएपनि अझै पनि अवस्था भने सुधार भएको देखिदैन । विद्यालयमा दिईने शारीरिक एवम् मानसिक सजायले उनीहरुमो कलिलो मष्किमा ठुलो चोट पुग्ने गरेको छ ।

पहिलाको जस्तो शारिरीक यातना दिने काम कम भएपनि मानसिक यातना दिने काम बढी भएको विद्यार्थीहरु नै बताउछन् । साथिहरुको अगाडी नराम्रो कमेन्ट गर्दा मानसिक तनाव बढ्ने र विद्यालय प्रतिनै नकारात्मक धारणा बन्ने गरेको विद्यार्थीहरुनै बताउछन् । बालबालिकाहरुकै रोहबरमा गरिने विभिन्न अनुशासनात्मक नियमहरू बनाउन सकिन्छ,उचित परामर्श दिने जस्ता कुराहरू पिटाइ र गाली भन्दा ज्यादा प्रभावकारी हुन्छन् ।

धादिङबेसीका केहि विद्यालयहरुले मनोसामाजिक परामर्शकर्तासँग परामर्श सन्चालन गर्ने कार्य पनि गर्न सुरु गरीसकेका छन्। बालबालिकाहरुमा पारिवारीक, सामाजिक, साथिभाई, शिक्षक शिक्षिका तथा अन्य विविध कारणले गर्दा मनोसामाजिक समस्याहरु झेल्न बाध्य छन् । विद्यालय स्तरमा मनोपरामर्शको कार्यक्रम लान सकिए यस्ता धैरै केशहरुको पहिचान हुनसक्छ ।

तर अहिले सक्म सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन । कलिला बालबालिकाको रूचि, इच्छा र क्षमता अनुसार शिक्षण प्रक्रिया अपनाइ बालमैत्री वातावरण सिर्जना गरी शिक्षण/सिकाइ गर्नु आज को युगको आवश्यकता हो । त्यसैले बालबालिकाहरु, शिक्षक र विद्यार्थीहरुलाई परामर्शका कार्यक्रमबाट समेट्न सके अहिले बालबालिकाहरुले भोगेका कयैन समस्याहरुको हल हुने थियो ।

लेखक रामकुमार थापा वरिष्ठ मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्