नेपालमा कोरोनाको नयाँ भेरियण्ट : ३५ नमूना परीक्षणमा ३४ मा संक्रामक ट्रिपल म्युटेन्ट

धादिङ,०५ ज्येष्ठ ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।  भारतमा केही समयअघि देखिएको कोरोना भाइरसको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) नेपालमा पनि पाइएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) मा बी १.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १.६१७.१ भेरियन्ट पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । अत्यधिक संक्रामक यो नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मे १० (वैशाख २७) मा ‘विश्वव्यापी चासोको भेरियन्ट’ भनी घोषणा गरेको छ ।

यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ । सातवटै प्रदेशबाट ‘¥यान्डम’ तरिकाले संकलित ३५ वटा नमुनालाई डब्लूएचओको समन्वयमा भारतमा जिन सिक्वेन्सिङ गर्दा यस्तो नतिजा आएको हो । सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको ट्रिपल म्युटेन्ट (तीन पटक उत्परिवर्तन) भेरिएन्ट नेपालमा व्यापक रूपमा फैलिरहेको अध्ययनले देखाएको छ । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरूको नमुना संकलन गरिएको थियो । जसमा ती नमुना ६ वर्षे बालकदेखि ८४ वर्षेसम्मका व्यक्तिको लिइएको थियो । ट्रिपल म्युटेन्ट भेरिएन्टकै कारण विगत केही सातायता संक्रमण दर उच्च रहेको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भनाइ छ ।

विभिन्न मुलुकमा गरिएको प्रारम्भिक अध्ययनमा ट्रिपल म्युटेन्ट भेरिएन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने र उल्लेख्य मृत्यु गराउने देखिएको भन्दै निर्देशक पौडेलले जनस्वास्थ्यको मापदण्ड अब झन् कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्