प्रदेशसभा बैठकमै सांसदहरुले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा

लुम्बिनी प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलमाथि संसद छलेर लुकीलुकी हिँडेको आरोप लगाए । उनीहरुले प्रदेश सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको दावी गरे । उनले अल्पमतका बाबजुद पनि जालझेल गरेर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएको आरोपसमेत लगाए ।

नेपाली काँग्रेसकै अर्का सांसद शंकर गिरीले मुख्यमन्त्री पोखरेलले संसदको अपमान गरेको भन्दै सहमति, सहकार्य र एकताका लागि राजीनामा दिनुपर्ने जिकिर गरे ।नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले अल्पमतमा परेपछि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमा लगेर शंकर पोखरेलले सपथ लिएको आरोप लगाए । उनले मुख्यमन्त्री पोखरेलले मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताका रुपमा आफूले विगतमा चिनेको भए पनि अहिले त्यसको ठिक उल्टो भूमिकामा देखिएको बताए ।

प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने  प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्