धादिङ,१८ असोज ।
पछिल्लो २४ घण्टामा धादिङका थप ४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २७ पुरुष र १३ महिला गरी ४० नयाँ बिरामी थपिएका छन् । योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ८१७ पुगेको छ ।
स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४७६ जना पुरुष र ३४१ महिला गरी कुल ८१७ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २५, बेनिघाट रोराङका २०, सिद्धलेकका १७, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ४ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८५ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।