धादिङ,२८ असोज ।
धादिङमा आज ४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २२ पुरुष र १८ महिला गरी ४० जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।
योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार २७३ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ७०९ जना पुरुष र ५६४ महिला गरी कुल एक हजार २७३ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७४४ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५४, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २९, थाक्रेमा १७, नेत्रावती डवजोङमा ७, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ७ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर