धादिङ,०४ कात्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।
नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) बाट हुन्छ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् ।
निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र ९१ लाख ४० हजार आठ सय छ तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ ।