मनसुनी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यका लगायत मुलुकका अधिकांश स्थानहरुमा बर्षा भएको छ ।
शुक्रबार साँझदेखि नै काठमाडौ लगायत मुलुकका कतिपय स्थानमा भारी बर्षा भएको हो भने केही स्थानमा हल्का बर्षा भएको थियो । बर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।त्यसैगरी, काठमाडौको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसंगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश भुभागमा बर्षा हुने र केही स्थानमा भने भारी बर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले सनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।
यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा बर्षा हुने क्रम रोकिएको छ ।