सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको अधिकांश भूभागमा सामान्य बदली रहेको छ। साथै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।
बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले बताएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।
देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागको भनाइ छ।
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।