काठमाडौं, २२ मंसिर
अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले दुई दशकअघिदेखि बाग्मती संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, जनसंख्या वृद्धि हुँदै गर्दा बाग्मतीलार्ई सफा राख्न हम्मेहम्मे परिसकेको छ । जति धेरै जनसंख्या उति नै धेरै फोहोर निस्किने हुँदा समितिले बाग्मती स्वच्छ बनाउन काठमाडौं उपत्यकामा थप चार ठाउँमा पानी प्रशोधन केन्द्र निर्माण कार्यअघि बढेको छ ।
उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु–बालकुमारी, ललितपुरकै धोबीघाटमा दुई वटा र काठमाडौंको गुह्यश्वरीमा थप एकवटा गरी सात ठाउँमा पानी प्रशोधन केन्द्रको निर्माण कार्यअघि बढेको खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयका प्रमुख चन्द्र पाँ श्रेष्ठले जानकारी दिए ।
सर्वसाधारण तथा कलकारखानाबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र बाग्मतीमा मिसाइने प्रक्रिया अघि बढेको छ । घर तथा कलकारखानाबाट निस्किएको ढललाई सिधै खोलाको पानीमा मिसाउँदा बढी फोहोर भएको भन्दै उपत्यकामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
एसियाली विकास बैंकको सहयोगमा चारवटा प्रशोधन केन्द्र निर्माण हुँदै छ । एउटा आयोजना भने सम्पन्न भइसकेको बाग्मतीको पानी सफा बनाउनका लागि चारवटा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनी भन्छन्, ‘ढल व्यवस्थापन पनि गर्दै छौँ । हामी सहायक नदीमा पनि जानुपर्छ । सबैतिर एकैपटक जानका लागि हाम्रो क्षमता पनि पुग्दैन । मुख्य बाग्मतीको सहायक नदी, सहायक नदीका पनि सहायक नदीमा गएका छौं । सबै सहायक नदीमा जानुपर्छ तर बाग्मती नदीलाई बढी प्राथमिकता दिएका छौं ।’ सातवटा सहायक नदी र बाग्मती नदीमा ढल व्यवस्थापन गर्नका लागि करिब ५५ अर्ब रुपैयाँ लागत लाग्ने र अन्य सहायक नदीको पनि अध्ययन गर्ने उनले बताए ।
गुह्यश्वरीमा दैनिक तीन करोड २४ लिटर पानी प्रशोधन गर्ने क्षमताको पानी प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ । सल्लाघारीमा एक करोड ४२ लाख क्षमता, कोड्कु बालकुमारीमा एक करोड ७५ लाख क्षमता, र धोबीघाटमा तीन करोड ७० लाख लिटर क्षमताको दुईवटा शुद्धीकरण केन्द्रको निर्माण कार् अघि बढेको अयेजना प्रमुख श्रेष्ठले बताए ।
‘यससँगै गुह्यश्वरीमा दुई अर्ब ५४ करोड रुपैयाँ लागतमा नयाँ पानी शुद्धीकरण केन्द्र निर्माणको काम सकिएको छ । यस आयोजना १० वर्षसम्म नै सञ्चालन गर्नेछौ,’ उनले जानकारी दिए ।
यी तीनवटा आयोजनाको ठेक्का चीनको एक कम्पनीले लिएको उनले जानकारी दिएका छन् । सल्लाघारी, कोड्कु बालकुमारी, धोबीघाटका आयोजनाहरू भने एउटै प्याकेजमा बन्ने उनले बताए । उक्त आयोजनाको लागत चार अर्ब रहेको उनले बताए । विभिन्न निकाय र नगरपालिकाले ढल व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार शुद्धीकरण भएको पानीमा माछा पालन पनि गर्न सकिन्छ । उनले भने, ‘हामीले पानी शुद्धीकरण गरेर खोलामै पठाउँछौ । जुन पानी खान योग्य नभए पनि त्यहाँ माछाहरु बाँच्न सक्छन् । हामीले प्रशोधन गरेको पानी पिउनको लागि नभएर माछा बाँच्नेसम्मको हुनेछ ।’
फोहोर पानीलाई स्वच्छ बनाउका लागि गुह्यश्वरी, सल्लाघारी, कोड्कु र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यी चारस्थानको प्रशोधन केन्द्र सन् २०२३ सम्ममा निर्माण भईसक्ने आयोजनाको भनाइ छ ।
काठमाडौं उपत्यकाको प्रमुख नदी बाग्मतीको पानी स्वच्छ राख्न ढल मिसिन्नबाट बचाउनु पर्ने हुन्छ । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाईन विस्तार गरिरहेको छ । यस्तै मेलम्चीले मनहरा र हुमन्ते खोलामा पाइपलाईन विछ्याउने काम गरिरहेको छ ।
चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो । विकास समितिले बनाएको छुट्टै पाइपलानबाट ढल ल्याएर प्रशाेधन केन्द्रमा जम्मा गरिने र सो केन्द्रले ढल प्रसोधन गरी बाग्मतीमा पानी मिसाउने योजनाअनुसार काम भइरहेको हो ।
खोला किनारमा निर्माण गरिएका पाइपलाईनमा सहरको फोहोर पानी बग्नेछ । जसले गर्दा ढल सिधै खोलामा मिसानबाट रोकिनेछ । पाइपलाइनबाट बग्ने पानीलाई विभिन्न स्थानमा निर्माण हुने प्रशोधन केन्द्रले सफा बनाई खोलामा बगाउनेछ । चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।
चारवटा प्रशोधन केन्द्र निर्माणको लागि खर्च कति लाग्छ ?
चार स्थानको प्रशोधन केन्द्र तथा मनहरा र हनुमन्ते खोलामा ढलको पाइप विछ्याउनका लागि मेलम्ची आयोजनाले १३६ मिलियन अमेरिकी डलर खर्च गर्दै छ । एसियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण सहयोग र सरकारले ५६ मिलियन अमेरिकी डलर आयोजनालाई दिएको छ । निर्माण सम्झौताअनुसार सन् २०१९ सम्म बागमतीमा स्वच्छ पानी बग्नु पर्ने भरइसके पनि अझै आयोजनाले काम सम्पन्न गरेको छैन ।
गुह्यश्वरीको काम सकिसकेको छ । तर, १० वर्षसम्म मेन्टेनेन्सको काम गर्न पर्नेछ । ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ । गुह्येश्वरी प्रशोधन केन्द्रले दैनिक तीन करोड ६४ लाख लिटर पानी प्रशोधन गर्नेछ ।
कहाँ पुग्यो बाग्मती ब्युटीफिकेशनको काम ?
बाग्मती ‘ब्युटिफिकेशन’ को काम २७ वर्षसम्म पनि कुनै सुधार आएकाे छैन । लामो समयदेखि रोकिएको काम अहिले पुन: सुरू भएको बाग्मती एकीकृत सभ्यता समाजले बताएको छ । आयोजनामा हालसम्म १४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको समाजले बताएको छ । हाल आयोजना अघि बढाउनका लागि भने जग्गा मुआब्जाको क्षतिपूर्तिको कारणले समस्या भइरहेको समाजले जनाएको छ ।
समाजले सन् २०१९ भित्र ब्युटिफिकेशन बाग्मती बनाइसक्ने गरि आयोजनाअघि बढाएको थियो । बाग्मती नदीको वरिपरि किनारमा लगाएका बोटबिरुवा र फूलको संरक्षण गरी २०१९ भित्र स्वच्छ, सफा र हराभरा बनाउने तयारी स्वरुप विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो ।
मुआब्जा विवादका कारण नै बाग्मतीको ब्युटिफिकेसन परियोजनाको काम रोकिएका थियो । विवाद मन्त्रालयसम्म पनि पुगेको थियो । यो विवाद संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको विषय नै बनीसकेको थियो । ब्युटिफिकेशन क्षेत्रमा पर्ने जग्गाका धनीले मुआब्जाको क्षतिपूर्ती नदिएसम्म काम गर्न नदिने अडान लिएपछि आयोजनाको काम १० महिनासम्म ठप्प भएको थियो । बाग्मती नदी क्षेत्रका स्थानीयवासीले १८८ रोपनी जग्गाको मुआब्जा माग गर्दा कुनै सुनुवाइ नगरेपछि आयोजनाको काम रोकिएको थियो ।
तर, अहिले सरकारसँग पहल गर्दै बाग्मतीदेखि गोकर्णसम्म ब्युटिफिकेशनको कामअगाडी बढाइरहेको बाग्मती एकीकृत सभ्यता समाजका सुचना अधिकारी कमल अर्याल बताउँछन् । उनी भन्छन्, ‘बाग्मतीको उदगम स्थल सुन्दरजलदेखि चोभारसम्म ढलको पाइप बिछ्याइसकेको छ । पशुपतिदेखि माथिकोे ढल गुह्यश्वरीमा मिसाइएको छ भने तिलगंगादेखि धोबिघाटसम्म पनि काम भइरहेको छ ।’
उनका अनुसार नदी क्षेत्रमा रोकिएको पार्क बनाउने, फूल रोप्ने र ढल निर्माणको काम फेरि सुरू भएको छ । नदीको पानीको गुणस्तर वृद्धि गर्न बाग्मती शुद्धीकरण प्रशोधन केन्द्र पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।