बुटवल, २६ मंसिर
पश्चिम नेपालकै मूख्य आर्थिक तथा पर्यटकीय केन्द्र बुटवलमा यस क्षेत्रकै पहिलो बुटिक होटल सञ्चालनमा आएको छ । करिब ५० करोड लगानीमा ड्रिम इन्टरनेशनल होटेल सञ्चालनमा आएको हो । बुटिक होटलमा हुनुपर्ने सम्पूर्ण सुविधासहित सञ्चालनमा आएको दाबी गरिएकाे होटलमा व्यवसायी गोपाल रानाको एकल पारिवारिक लगानी छ ।
बिगत १३ वर्षदेखि रुपन्देहीको मणिग्राममा चारतारे होटेल डमी ल्यान्ड गोल्ड रिसोर्ट समेत सञ्चालन गरिरहेका व्यवसायी रानाले तीन तारे स्तरको होटेल खोलेका हुन् । ४० वटा कोठासहितको होटेलमा चार वटा स्वीट रुम र बाँकी ३६ वटा डिलक्स रुम छन् ।
होटेलमा ८० देखि १०० जना क्षमताको दुई वटा कन्फेरेन्स/मिटिङ हल, ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छ्न् ।
बुटवलको मिलनचोक तीनकुनेमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको र ६० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका सञ्चालक रानाले बताए ।