धादिङमा १९ दिनको अवधिमा १० हजार भन्दा बढि मतदाता थपिएका छन्।निर्वाचन कार्यालय धादिङले मंसिर १७ गतेबाट मतदाता नामावली संकलन गर्न सुरु गरेपछि सोमबारम्म जिल्लामा १० हजार १५३ जना मतदाता थपिएका धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार मात्रै १ हजार ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।जिल्लामा अहिले दोस्रो चरण अन्तरगत सात वटा स्थानिय तह थाक्रे, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ, गल्छी, नेत्रावती डबजोङ र खनियाबास गाउँपालिकामा मतदाता नामावली संकलन कार्य जारी रहेको छ। यो अभियान पौष ८ गते भोलिसम्म सञ्चालन हुने छ।
पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन कार्य संचालन भएको थियो ।पहिलो चरणमा छ वटा स्थानिय तहका ५ हजार ४०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो। निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।
१६ बर्ष उमेर पुरा भएका नेपालि नागरिकहरुको नाम मतदाता नामावलीमा दर्ता गरिन्छ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ।