धादिङमा चारदिनको अवधीमा १२ देखि १७ वर्ष उमेर समूहका २० हजार ११७ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन्।जिल्लामा आईतबारदेखी सुरु भएको खोप अभियानमा पहिलो चरण अन्तरगत बुधबार मात्रै ३ हजार ७३७ जना छात्रा र ३ हजार ३९३ छात्र गरी ७ हजार १३० ले मोर्डनाको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
मंगलबार ५ हजार ५७५ ले लगाएका थिए। पहिलो चरण अन्तरगत जिल्लाको निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा अभियान जारी रहेको छ।पहिलो चरणको अभियान आजसम्म सञ्चालन हुने छ ।
यस्तै दोश्रो चरण अन्तरगत आजदेखि ५ स्थानिय तह धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । दोस्रो चरणको अभियान पुस ११ गते सम्म सञ्चालन हुने छ ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने उहाँले बताउनुभयो ।
यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।