भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तु समेत ठूलो मात्रामा आयात भएको देखिएको छ। पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात भएको छ।
विभागका अनुसार गत आर्थिक वर्षमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट आउँछ। त्यस्तै करिब एक करोड रुपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ।
दुई करोडको सियो र सेफ्टी पिन आयात
विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमादुई करोडभन्दा बढी रकम बाहिरिएको छ। गत आवमा एक करोड ७३ लाख ९१ हजार रुपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात
विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिला आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ। सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएको छ।
एक वर्षमा रु एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ। विभागका अनुसार गत आवमा १५ करोड ८५ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ।रासस