काठमाडौँ, १२ कात्तिक ।
सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिनुभएको हो।
सांसद सुवालले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुदैन ।” उहाँले नेपालीको सम्पति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानार्कषण गराउनुभयो ।
“केही व्यक्तिहरुको कम्बोडिया, स्वीजरल्याण्ड, दुबई र बेलायतमा भएको सम्पति अविलम्ब नेपाल फिर्ता ल्याउने व्यवस्था गर्नुपर्छ, अनि मात्र हाम्रो बैंकमा पैसा हुन्छ”, सांसद सुवालले भन्नुभयो । उहाँले सार्वजनिक बिदा कटौती गर्न, रोजगारीको अवसर सिर्जना गर्न र बसाइँसराईलाई नियन्त्रण गर्नसमेत जोड दिनुभयो ।