गोरखा, १५ कात्तिक ।
गोरखाको बेनीघाट–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।
एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो। विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्रयाइँ गर्दा समेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ ।
निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक–पटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
कुल रु चार करोडमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई रु तीन करोड २० लाख भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशत मात्र रहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।
ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माण लगायतका काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उहाँको भनाइ छ ।
तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । “ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यस बाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ”, उहाँले भन्नुभयो ।
चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।रासस