काठमाडौँ, २५ जेठ
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ ।
सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो । सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो ।
हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराउनुभएको थियो । पाकिस्तानका प्रधानमन्त्रीले १९औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।
यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव विनयमोहन क्वात्रा, अर्का सचिव जयदीप मजुमदार तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर सचिवालयका गतिविधिबारे जानकारी दिनुभएको थियो । ती अवसरमा भारतीय नेतृत्व तथा अधिकारीहरूले सार्क प्रक्रियाप्रति समर्थन जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।