धादिङमा ६८ प्रतिशत रोपाई

धादिङबेशी । धादिङमा हालसम्म ६८ प्रतिशत मात्रै धान रोपाई भएको छ । साउनको दोश्रो साता सुरु हुँदासम्म ६८ प्रतिशत मात्रै रोपाई भएको छ भने ३२ प्रतिशत खेतमा रोपाई हुन बाँकी रहेको छ । यो वर्ष धान खेती हुने अनुमान गरिएको ११ हजार तीन सय १२ हेक्टर मध्ये सात हजार सात सय १५ हेक्टरमा रोपाइ सकिएको कृषि ज्ञान केन्द्र धादिङलेका प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो ।

‘रोपाइमा ढिला भएपनि आकाशे पानीको भरमा रोप्नुपर्ने खेतहरुमा रोपाई चलिरहेको छ’ गुरुङले भन्नुभयो, ‘चैते धान ढिला पाकेको र लगाइएको मकै नपाकेका कारण ढिला रोपाई भएको हो ।’ साउनको तेश्रो सातासम्म रोपाइँ चलिरहने उहाँको भनाई छ ।
जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान उत्पादन हुँदै आएको छ । नीलकण्ठ नगरपालिका, गंगाजमुना, त्रिपुरासुन्दरी र बेनिघाट गाउँपालिकालाई बर्षे धान खेतीको पकेट क्षेत्र मानिन्छ ।

पछिल्लो समय धादिङका किसानहरु स्थानीय जातको धान रोप्न छाडेर अधिकांश किसानले हाइब्रिड धानप्रति आकर्षित हुने गरेका छन् ।
यो वर्ष कम उचाई भएका ठाउँहरुमा युएस ३१२, धानिया, राजा लगाएका छन् भने अलि बढी उचाई भएका ठाउँहरुमा सावित्री, मनसुली, मकवानपुरे लगायत जातका धान लगाउने गरेका छन् । कृषि विकास कार्यालयको तथ्यांकमा ६८ प्रतिशत खेतमा रोपाई भएको भनेपनि स्थानीय पालिकाहरुले भने यकिन तथ्यांक नै दिन सकेको छैन ।

खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् । स्थानीय तहका प्राविधिकहरुले मोटामोटी अनुमानको भरमा रिपोटिङ गर्ने गरेका छन् । कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक गाउँपालिकाहरुमा भेटिदैन । आँखाले हेरेर अनुमान लगाएकै आधारमा प्रतिशत निकाल्ने गरिएको छ । नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा घट्दै गइरहेको बेला धादिङमा पनि त्यसको असर देखिएको छ ।

तथ्यांकअनुसार केही वर्ष अघिसम्म १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने धादिङ जिल्लामा अहिले घटेर ११ हजार हेक्टरमा मात्रै धान रोपाइ हुने गरेको छ । बर्सेनी उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको विज्ञहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्