यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ : मन्त्री गुरुङ

काठमाडौँ १३ भदौ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सँग आज कुराकानी गर्दै मन्त्री गुरुङले यो वर्षलाई ऐन संशोधन र कानुन निर्माणको वर्षका रुपमा गृहकार्य थालेको जानकारी दिनुभयो । “यो वर्ष मन्त्रालयको कानुन तथा नीति निर्माण गर्ने वर्ष हुनेछ”, उहाँले भन्नुभयो, “पुराना ऐनले चलेका सञ्चार नीतिहरू संशोधनमा लगेका छौँ । आवश्यकता परेको खण्डमा नयाँ नीतिहरू पनि बनाउँछौँ ।”

मन्त्री गुरुङका अनुसार बन्दै गरेका कतिपय विधेयक अन्तिम चरणमा पुगेका छन् । सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ अन्तिम राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित, स्वायक्त र स्वतन्त्र बनाउने उद्देश्य राखी बन्दै गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक पनि बन्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

लामो समयदेखि रोकिएको आमसञ्चार नीति छिट्टै टुङ्गोमा पुग्ने जानकारी दिँदै मन्त्री गुरुङले आम चासो रहेको मिडिया विधेयक पास गर्न भने आफूले हतार नगर्ने स्पष्ट पार्नुभयो । सञ्चारसँग सम्बन्धी विधेयक संवेदनशील भएकाले यसमा सरोकारवालाको साझा मनोभाव समेटेर मात्रै टुङ्गोमा पु¥याउने उहाँले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयको सुझावअनुसार दूरसञ्चार विधेयक र सूचना प्रविधि (साइबर क्राइम) विधेयक एउटैमा गाभिएको हुँदा तुलनात्मक रुपमा बृहत् बनेको उहाँले सुनाउनुभयो । “यो वर्ष हुलाकदेखि सञ्चारसँग जोडिएका सबै कानुन बनाउँदैछौँ”, उहाँले भन्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्