तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

दमौली (तनहुँ), ५ असोज
 तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कार्यका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रमा उक्त दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । डुम्रे सबस्टेसनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङटार फिडरको पुरानो ११ केभी स्विच गियर प्यानलहरू बदली तथा ‘चार्ज’ गरिने उहाँले बताउनुभयो ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रअन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि खैरेनीटार सबस्टेसनको ३३ केभी प्रसारण लाइन बन्द हुने जनाइएको छ । उक्त सबस्टेसनमार्फत वितरीत शुक्लागण्डकी, भिमाद, घिरिङ, ऋषिङ, म्याग्दे, बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्