राजधानी नजिकको सुन्दर गन्तव्य रुवी भ्याली

विष्णुप्रसाद आचार्य

जीवन अनुभवहरूको सँगालो हो र अनुभव लगावबाट पैदा हुन्छ । यात्रा क्रियाशीलताको महनीय पक्ष हो । नेपालीको यात्रानुभवहरू विश्वका धेरै देशका नागरिकहरूको तुलनामा केही पछाडि नै रहेको मानिन्छ तर हाम्रा पूर्वज ऋषि–मनीषी, साधु–सन्त, साधक–तपस्वीहरू यात्रालाई ज्ञानको स्रोत मान्दथे र उच्च हिमालयदेखि गङ्गासम्म निरन्तर उत्तिष्ठत–जाग्रतको भावमा निरन्तर यात्रारत रहन्थे ।

गृहस्थ समय र मौसम आएपछि तपश्चर्या र यात्राको हाम्रो वैश्विक परम्परा खुम्चियो तर आजभोलि नेपालीहरूको यात्राक्रम निकै बढेको छ ।यात्राका लागि नयाँ–नयाँ गन्तव्यहरू पनि विकास भइआएको छ । नयाँ र संसारले देख्न, घुम्न र अनुभव गर्न बाँकी गन्तव्य रुवी भ्याली हो ।

नेपालमा दशैं पश्चात् पहाडी र हिमाली क्षेत्रको पैदल यात्राको लागि मौसम सुरु भएको मानिन्छ । सुन्दर शरद ऋतु, खुलेका हिमाल, रोकिएको वर्षाले यात्रा प्रारम्भको सङ्केत गर्दछ । यात्राले मात्र उज्यालो हुँदैन, तन पनि उज्यालिन्छ ।

त्यसैले अहिले कम्तीमा वर्षको एक पटक भए पनि बहुदिने पदयात्रामा जाने क्रम बढिरहेको छ ।

रुवी भ्यालीका अनेका रूप र रङ

धेरैले नाम सुनेको तर अधिकांश व्यक्ति नपुगेको रुवी भ्यालीको अनेक रूप र रङ रहेछन् । यो उपत्यका मात्र होइन, एउटा गाउँपालिका पनि हो ।

धादिङका १३ पालिकामध्ये सबैभन्दा उत्तरमा चीनसँग सीमा जोडिएको साबिकको लापा, तिप्लिङ र सेर्तुङ गाविसको नयाँ रूप रुवी भ्याली गाउँपालिका हो । यसको क्षेत्रफल ४०१.८५ वर्ग किमी रहेको छ ।

हामी नामबाट नै सहज अन्दाज गर्न सक्छौं कि महत्त्वपूर्ण पत्थर रुवी पाइने उपत्यका समेत हुनाले यसको नाम रुवी भ्याली रहेको हो । रुवी यहाँ सहज पाइन्छ र असहज किसिमले लुकीछिपी बिक्री–वितरण भइरहेको छ, व्यवस्थित उत्खनन् हुनसकेको छैन ।

बुढापाकाका अनुसार यहाँ प्रशस्त रुवी पाइन्थ्यो तर अव्यवस्थित उत्खनन्, चोरी निकासीको कारण रुवी सीमित व्यक्तिको हातमा मात्र पुग्यो । यो न राज्यको हातमा न स्थानीय गरिब जनताको हातमा ।

रुवीको अलावा कुनै दिन चल्तीमा रहेको यहाँको फलाम, जस्ता र सिसाको खानी आज बन्द छ । अहिले पनि तपाईं त्यहाँ भ्रमण गर्ने क्रममा बाटोमा हिंडिरहेको बेला कुनै महत्त्वपूर्ण पत्थर पाउन सक्नुहुन्छ ।

क्वार्ज र क्रिस्टल त सहजै पाउनुहुन्छ । यसको लागि कुनै मिहिनेत गर्नुपर्दैन । यदि पत्थर पनि तपाईंको रुचि हो भने अध्ययनको लागि पनि एक महत्त्वपूर्ण गन्तव्य हुन सक्छ ।

हातमा सुनको कचौरा बोकेर मागिहिंड्ने भने जस्तै भएको छ यो क्षेत्र । जैविक विविधताले धनी यो उपत्यका वनविज्ञान, वनस्पति र प्राणीशास्त्रका अध्येताको लागि बृहद् विद्यालय हो ।

महत्त्वपूर्ण जडीबुटीको उपलब्धता मात्र होइन वन विज्ञानमा पढाइने तर अनुभूति गर्न नसकिएको प्रिस्टाइन र भर्जिन फरेस्टको आंशिक रूप भए पनि तपाईं यहाँ देख्न सक्नुहुन्छ ।

ठिङ्गेसल्लाको बाहुल्य भएको यो जङ्गलमा यत्रतत्र देखिने लालीगुराँसका विभिन्न प्रजाति र रङ्गीन बुकीले हामीलाई अवश्य पुलकित बनाउनेछ ।झारल, नाउर, रेडपाण्डा, कस्तूरी, डाँफे, चितुवा, हिमचितुवा लगायत महत्त्वपूर्ण लोपोन्मुख जनावरका प्रजाति यहाँ पाइन्छ ।

यहाँका पाटनमा देखिने हरियाली र ती हरित पाटनमा फुल्ने रङ्गीविरङ्गी फूलले तपाईंको मन अवश्य हर्नेछ । एक पाटनदेखि अर्को पाटनसम्म टिङटिङ घण्टीको मधुर सङ्गीत बजाउँदै चर्दै हिंडेका चौंरीका बथानले तपाईंलाई स्वर्गीय आनन्दको अनुभूति दिनेछ ।

यात्राको क्रममा आमाको पर्खाइमा गोठ नजिकका चौरमा घाम ताप्दै बसेका चौंरीका बाच्छासँग तपाइँको पक्कै कतै न कतै जम्काभेट हुनेछ । यी साना सुन्दर बच्चासँग एकछिन बसेर व्यतीत गर्ने समय तपाईंका लागि निश्चय पनि अद्भुत हुनेछ ।

बाटोमा तपाईंलाई भेडाका बथानले स्वागत गर्नेछ । चाँदीका लहर झैं उभिएर तपाईंलाई हेरेर नै हाँसेका जस्ता एक होइन अनेक हिमशृङ्खला सहज ढङ्गले देख्न र अनुभूत गर्न सक्नुहुन्छ ।

एकै स्थानबाट एक दर्जन हाराहारीको हिमशृङ्खलाको दर्शनले तपाइँलाई पक्कै रोमाञ्चित बनाउनेछ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लामटाङ लगायतको शृङ्खला यो यात्राको क्रममा तपाईं सहज भेट्नुहुनेछ ।

हामी यदि समाजशास्त्र, मानवशास्त्रमा पनि रुचि राख्छौं भने यहाँका ठूलाठूला तामाङ बस्तीको जनजीवन, संस्कृति अध्ययनको लागि यो स्थान उर्वर छ । तामाङ कल्चरल हेरिटेज ट्रेलले छुने यो स्थानका तिप्लिङ, सेर्तुङ, बोराङ, लापा, चालिसे (चालिस), हिम्दुङ, पुरु, लिङ्जो लगायत गाउँका तामाङ, घलेको अध्ययनको लागि महत्त्वपूर्ण स्रोत हुन्छ ।

देशका विभिन्न दुर्गम र गरिब बस्तीमा जस्तै यहाँ पनि कसरी परम्परागत रूपमा बौद्ध धर्ममा विश्वास गर्ने तामाङ समुदाय क्रमशः क्रिश्चियनमा रूपान्तरण भएका विषय, पर्व, मेला, म्हेन्दोमाया, दोरा, घोडा नाच, झाँक्री नाच, म्हाने, तान्त्रिक महाङ्काल जात्रा, घाटु नाच लगायत अन्य विषय पनि यहाँ पर्यटनका आकर्षण हुनसक्छन् ।

टोलपिच्छे गाउँका चर्च, गुम्बा र मानेले तपाइँलाई अवश्य आकर्षण गर्नेछन् । यहाँका भेडा र चौंरीपालनमा नै आफ्नो जीवन र भविष्य खोज्दै भौंतारिरहेका गोठाला र गोठहरू तपाईं यात्राको क्रममा भेट्नुहुनेछ र उहाँहरूको कुरा पनि तपाइँको रुचिको विषय हुनसक्छ ।

त्यति मात्र नभई देशभरि नै परम्परागत कृषि घटिरहेको अवस्थामा यतिको दुर्गम स्थानमा समेत सघन कृषि, लहलह गर्ने चक्रीय बालीले तपाईंलाई सम्मोहित गराउनेछ ।

सहज, सरल र किफायती गन्तव्य

रुवी भ्याली ट्रेक राजधानीबाट नजिक र किफायती हिमाली गन्तव्य हो । पाङ्गसाङ्ग पास (३,८४० मिटर) नै यहाँको सबैभन्दा उच्च स्थानको पास (घाँटी) हो र यदि हामीसँग ३–४ दिनको समय मात्र छ भने पनि यो यात्रा सहज ढङ्गले पूरा गर्न सक्छौं । काठमाडौं उपत्यका र धादिङबेसीबाट गर्न सकिने यो अत्यन्त नजिकको सहज, सरल र किफायती यात्रा हो । 

यति मात्र होइन यदि तपाइँ हिंड्न सक्नुहुन्न वा सके पनि हिंड्न चाहनुहुन्न तर हिमाली भेगलाई नजिकबाट आत्मसात् गर्न चाहनुहुन्छ, केही दिन भए पनि धुवाँ–धुलो र प्रदूषणबाट उन्मुक्ति चाहनुहुन्छ र अघाउन्जेल हिमाली शृङ्खलाको दर्शन गर्न चाहनुहुन्छ भने तपाईंले रुवी भ्यालीको यात्रा तालिका आजै बनाउँदा हुन्छ ।

हिंड्न नसक्ने वा नचाहनेले फोरह्विल गाडी मार्फत पनि सहज ढङ्गले यो यात्रा गर्न सक्नुहुनेछ । यो पङ्क्तिकारको पाङ्गसाङ्ग पासको तीन पटक र रुवी भ्यालीको चार पटकको यात्राको अनुभवको आधारमा सिफारिस हो ।

कसरी पुग्ने ?

यहाँ पुग्न मुख्य गरी दुई वटा बाटोको प्रयोग गरिन्छ । एउटा बाटो रसुवाको स्याफ्रुबेसी हँुदै आफ्नो अनुकूल अनुसार गाडी वा पैदल मार्ग हुँदै धादिङबेसी निस्कने र अर्को बाटो धादिङबेसीबाट बोराङ, सेर्तुङ, तिप्लिङहँुदै स्याफ्रुबेसी निस्कने ।

यीमध्ये हाम्रो अनुभवमा रसुवाको स्याफ्रुबेसीदेखि यात्राको सुरुवात गरेर विभिन्न स्थानको अवलोकन गर्दै धादिङबेसी निस्कने बाटो सहज छ ।

रुवी भ्यालीको सीमित क्षेत्रको अलावा गणेश हिमाल बेसक्याम्प, गणेश कुण्ड, कालो दह, सेतो दह आदि जस्ता अत्यन्त महत्वपूर्ण गन्तव्यको पनि यात्रा गर्न चाहन्छौं भने छुट्टै तालिका चाहिन्छ ।

पहिलो दिन : काठमाडौंदेखि स्याफ्रुबेसी हुँदै गत्लाङ (ब्ल्याक भिलेज)

बिहान काठमाडौंबाट अनुुकूलता र सहभागीको सङ्ख्या अनुसार निजी फोरह्विल गाडीमा वा भाडाको नियमित रुटमा चल्ने बसबाट स्याफ्रुबेसी पुग्न सकिन्छ । स्याफ्रुबेसीबाट गत्लाङसम्म नियमित बस पनि चल्छ तर निजी गाडी प्रयोग गर्नुभएमा ठाउँठाउँमा रोक्दै हेर्दै फोटो खिच्दै स्थानविशेषको अनुभव लिन सक्नुहुन्छ ।

तपाइँ पहिलो दिन साँझसम्म सहज ढङ्गले गत्लाङ पुग्नुहुनेछ । गत्लाङसम्म गाडीको यात्रा नै हामी सिफारिस गर्दछौं । बाटोमा तपाईं चिलिमे गाउँ र चिलिमे जलविद्युत् परियोजनाको ताल देख्न सक्नुहुनेछ ।

गत्लाङ तामाङ बहुल गाउँ हो । यदि तपाईंले इन्टरनेटमा ब्ल्याक भिलेज इन नेपाल (कालो गाउँ) भनेर खोज्नुभयो भने त्यहाँ गत्लाङको फोटो आउँछ । यसको मतलब गत्लाङको अर्को नाम ब्ल्याक भिलेज पनि हो ।

सदियौंदेखि यहाँका सबैजसो घरको छानो ठिङ्गेसल्लाकोे काठको फलेकले छाउने गरिन्थ्यो । घर छाएको केही समयभित्र नै हावापानीले यी काठका फलेक क्रमशः कालो हुने र डाँडाबाट हेर्दा सबै घरको छानो कालो देखिने हुनाले यो गाउँको नाम नै कालो गाउँ रहन गयो ।

२०७२ सालको भूकम्पपछि यहाँका धेरै घर भत्किए र त्यसपछि यी घरका छाना कालोबाट क्रमशः सेतो वा नीलो (जस्ता) मा परिणत भए । तर अझै पनि यहाँका केही घरमा कालो छाना नै छन् ।

बेलुका तपाईं गत्लाङ गाउँ वा त्यो गाउँभन्दा थोरै माथिको पार्वती कुण्ड (२,६१३ मिटर) मा बस्न सक्नुहुनेछ । यहाँ साना–साना होटल र होमस्टे निकै छन्, तपाइँलाई स्थानीय परिकार सहितको आतिथ्य सहज ढङ्गले प्राप्त हुन्छ ।

दोस्रो दिन : गत्लाङदेखि सोमदाङ

गत्लाङमा अनिवार्य हेर्नुपर्नेमा धार्मिक महत्त्वले भरिपूर्ण आमा छोदिङमा (पार्वती कुण्ड), स्थानीय गुम्बा, लेकाली खेती प्रणाली र पार्वती कुण्ड भन्दा १० मिनेटको दूरीमा रहेको दुग्ध संस्थानको याकको दूध सङ्कलन र चिज फ्याक्ट्री हो ।

पार्वती कुण्ड

दोस्रो दिन बिहान उठेर यी स्थानको भ्रमण गर्ने आदि गर्न सक्नुहुन्छ । बिहान अलिक चाँडै खाना खाएर अब हाम्रो दोस्रो दिनको यात्रा सुरु हुन्छ । गाडीमा नै जान सके पनि पदयात्राको असली स्वाद लिन यहाँबाट पैदल यात्राको सिफारिस गर्दछौं ।

बाटो सरल छ, अल्मलिने छैन, अलमलिएमा स्थानीय गोठालालाई सोध्न सक्नुहुन्छ । करिब एक घन्टाको हिंडाइपछि नेपाली सेनाको एउटा क्याम्प देख्नुहुनेछ र त्यो गेट नाघेर हिंडेपछि अनेक प्रकारका वन, वनस्पति, वन्यजन्तुसँग साक्षात्कार हँुदै हामी ब्ल्याक फरेस्टमा पस्नेछौं ।

यहाँको ब्ल्याक फरेस्ट भनेको कुनै प्रजातिको जंगल होइन, वन डढेलोले ध्वस्त बनेको कालो ठुटा मात्र रहेको जंगल हो जुन दृश्य हेरेपछि तपाइँको मन अमिलो हुनेछ । करिब २० वर्ष अगाडि पुगनपुग ३०० हेक्टरको ठिङ्गेसल्लाको वनमा लागेको भीषण डढेलोले यो वन सखाप भएको देख्नुहुनेछ ।

तपाइँ यदि सञ्चारकर्मी, अर्थशास्त्री वा वन वातावरणकर्मी हो भने हाम्रो वन व्यवस्थापनको पाटो, हाम्रो हविगत, वनबाट नै समृद्धि ल्याउने हाम्रा भाषण, दिगो हो कि वैज्ञानिक वन व्यवस्थापन भन्ने बहस र सिङ्गापुर वा मलेसियाका काठ एकछिन सम्झनुहुनेछ ।

यो जङ्गल काटेपछि तपाइँ साना–ठूला पाटन र ती पाटनमा चरिरहेका चौंरी, भेडाको हुल हेर्दै अगाडि बढ्नुहुनेछ । मोटर बाटो अलिक लामो हुनसक्छ तसर्थ बीच–बीचमा मान्छे हिंड्ने छोटो बाटो प्रस्ट देखिन्छन् ।

छोटो बाटोबाट हिंड्दै जाँदा ३,७५० मिटरको उचाइमा रहेको खुर्पू भन्ज्याङ पुगेपछि तपाईंलाई आपूm निकै माथि आइपुगें कि भन्ने अनुभूति हुन्छ ।

एकछिन त्यहाँ आराम गरेर उत्तरपूर्वको ओरालो झरेर सिधै अगाडि बढेपछि पुनः मूलबाटो भेट्नुहुनेछ । त्यो बाटोमा करिब १ घन्टाको सहज तेर्सो हिंडेपछि अर्को दिनको गन्तव्य सोमदाङ (३,२७० मिटर) पुग्नु हुनेछ ।

सोमदाङको सानो खोलाको पुल तरेपछि अब तपाइँ धादिङको सिमानामा प्रवेश गर्नुहुन्छ । यहाँ तपाइँले लामो समयदेखि परित्यक्त अवस्थामा रहेकोे नेपाल मेटल कम्पनी लिमिटेड (गणेश हिमाल जस्ता सिसा परियोजना) स्टोर र थोत्रा घरहरू देख्नुहुनेछ ।

तपाइँसँग समय छ र रुचि जागेमा खानी भएको स्थानमा स्थानीय व्यक्तिको सहयोगमा जान सक्नुहुनेछ । यहाँ सानो बस्ती छ, केही होटल छन् । योभन्दा अगाडि कुनै वासस्थान नभएकोले अर्को बसाइँ यहीं गर्नुपर्दछ । यहाँ केही सूचनाका बोर्ड र पालिकाको नगर प्रहरीको टोली तपाईंको सेवामा तयार छ ।

तेस्रो दिन : सोमदाङदेखि लाब्दुङ वा तिप्लिङ

तेस्रो दिनको यात्रा आरम्भ बिहानै खाजा खाएर सुरु हुन्छ । आज छोटो दूरीमा अलिक ठाडो उकालो छ । उकालोको टुप्पोमा भन्ज्याङ पुग्ने बाटो देखिन्छ । तपाइँ मनमोहक फरक–फरक प्रजातिको जंगल र नर्चेतको हरिया पाटन, भेडीगोठ हेर्दै पाङ्गसाङ्ग पास पुग्नुहुनेछ । यहाँ पुगेपछि तपाईंको यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि पूरा हुनेछ ।

यहाँ देख्नुहुनेछ दिव्य र स्वर्गीय पाङ्साग पास । शरद वा वसन्त ऋतुमा गलैंचा विछ्याए जस्तै फूलै–फूलको भूगोल देखिनेछ । जहाँबाट संसारकै उच्च भूस्वर्गको अनुभव गर्नुहुनेछ । भञ्ज्याङमा एउटा होटल पनि छ, त्यसले खाजा खाना अर्डर अनुसार तयार गरिदिन्छ तर सधैं नखुल्ने हुनाले फोन गरेर सम्पर्क गरी पहिल्यै अर्डर गर्नुपर्छ ।

यो अत्यन्त सुन्दर स्थान हो, यहाँ पाङ्गसाङ्गगेट र पाङ्गसाङ्ग भ्यू प्वाइन्ट (३,९०० मिटर) बाट हिमशृङ्खला दृश्यावलोकन गर्ने सबैभन्दा सुविधाजनक स्थान छ ।

यहाँबाट तपाइँले अन्नपूर्ण र धौलागिरि रेन्जदेखि मनास्लु, पाबिल, गणेश १, २, ३, पाल्दोर पिक, लामटाङ शृङ्खला र तिब्बतमा पर्ने सिसापाङ्गमा हिमाल देख्न सक्नुहुनेछ । कहिलेकाहीं अकस्मात् बिगार्ने मौसमले धोका नदिएमा तपाईं यसको लागि भाग्यमानी ठहर्नुहुन्छ ।

यसको लागि सोमदाङबाट चाँडै हिंड्न सकेमा हिमशृङ्खला राम्रो देखिने हुन्छ । यदि तपाइँसँग समय छ भने २–३ घन्टाको दूरीमा सिङ्गला पास (४,१०० मिटर) पुग्नुहुन्छ र त्यहाँबाट करिब ४ घण्टामा सेर्तुङ वा तिप्लिङ पनि झर्न सक्नुहुनेछ तर यो पूर्णतया जङ्गलको बाटो हुनाले एकजना स्थानीय पथप्रदर्शक लिएर मात्र हिंड्नुपर्छ ।

क्रमशः तल झर्दै गर्दा गाउँ अझ प्रस्ट देखिंदै जान्छ । करिब ३–४ घण्टामा यहाँको पहिलो तामाङ गाउँ लाब्दुङ जहाँ होमस्टे छन् तपाईं आजको रात यही गाउँमा वा अलिक हिंड्ने हो भने तिप्लिङ पुग्न सक्नुहुनेछ । यहाँको गाउँको परिवेश हेरेर, स्थानीयसंँग कुरा गरेर तपाइँको तेस्रो रात यहाँ बित्नेछ । जहाँ तामाङ संस्कृति र परम्परा अनुसारको मिथक र संस्कृतिका इन्द्रेनी अनुभव गर्न सक्नुहुनेछ ।

चौथो दिन : अबको यात्रा आफ्नो रुचि अनुसार

पाङसाङ पास पछि आउने तिप्लिङ झरेपछि आफ्नो अनुकूलता, रुचि र आवश्यकता मुताविक यात्रा गर्न सकिन्छ । तिप्लिङबाट करिब २ घण्टाको पैदल यात्रामा तपाइँ सहज ढंगले सेर्तुङ (पालिकाको कार्यालय) पुग्न सक्नुहुन्छ ।

त्यसको करिब आधा घण्टामा घले र गुरुङ बाहुल्य चालिसे गाउँ पुग्न सक्नुहुनेछ र चालिसेबाट करिब ३ घण्टाको पैदल यात्रामा रुवी भ्याली ४ पेन्तिसिया तातोपानी कुण्डमा स्नान गर्न सकिन्छ ।

यो पनि एक आकर्षक गन्तव्य हो तर तपाइँ सोही दिन धादिङबेसी फर्कन चाहनुभयो भने बोराङबाट सार्वजनिक जीप पाइन्छन् । जीपबाट करिब ५ घण्टामा धादिङबेसी पुग्न सक्नुहुनेछ ।

एक दिन थप सेर्तुङ, तिप्लिङ, चालिसे, लापा वा बोराङमा बसेर थकाइ मार्ने, त्यहाँको जनजीवनलाई नजिकबाट अनुभूत गर्न पनि सकिन्छ । सेर्तुङ, तिप्लिङ वा लाब्दुङसम्म नै गाडी चल्ने हुनाले गाडी मगाएर फर्कन पनि सक्नुहुन्छ ।

सेर्तुङ

असोजदेखि मङ्सिर र चैतदेखि असार मसान्तसम्म यहाँको यात्रा उत्तम हुनेछ । तर यदि तपाईं केही हिउँको पनि थप मज्जा लिन चाहनुहुन्छ भने माघ वा फागुन वा हिमपात भएपछि पनि जान सक्नुहुनेछ किनकि यो स्थानको सबैभन्दा उचाइमा रहेको ३८४० मिटरको पाङसाङ पास यतिबेला पूर्ण हिमच्छादित हुनेछ ।

लैजानुपर्ने सामान

रुवी भ्याली यात्राका लागि नियमित ट्रेकिङमा जाने जस्तै जुत्ता, झोला आदि आवश्यक पर्दछ । बाटोमा खाने र बस्ने सुविधा भएकोले टेन्ट वा अधिक खाना, खाजा बोक्नुपर्दैन । यात्रालाई अर्गानिक बनाउन जंक फुड, मदिराजन्य पदार्थ र धूमपानजन्य वस्तु नभएकै यात्रा अर्गानिक र राम्रो हुनेछ ।

नजिकको तीर्थ हेलाँ भने जस्तै यस्तो सहज र उत्कृष्ट गन्तव्य प्रचारप्रसारको अभाव र नेतृत्व गर्ने निकायको अभावमा निकै पछि परेको छ ।

रुवी भ्याली यात्रा बागमती प्रदेशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ । त्यसैले यहाँका राजनीतिकर्मी, सञ्चारकर्मी, उद्यमी, विद्यार्थी, कर्मचारीहरूले यसको सन्दर्भमा अल्पकालीन र दीर्घकालीन रणनीति तथा योजनाहरू निर्माण गर्नु आवश्यक छ ।

यहाँका पालिका र प्रदेशले घुमन्तेहरूलाई केही सुविधाका प्याकेज पनि उपलब्ध गराउन आवश्यक छ । आशा गरौं यो आवश्यकता पनि समयले पूरा गर्नेछ । अहिलेलाई हामी सबै रुवी भ्याली यात्राका लागि तयारी गरौं जुन माटो हाम्रो सुस्वागतका लागि पर्खिरहेको छ ।

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्