धादिङबेशीमा खानेपानी आयोजनाको निर्माणका बारेमा खानेपानी उपभोक्ता समिति बिचको कार्याशाला गोष्ठि शुरु भएको छ ।
सर्भिस फर पिस नेपाल धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका र कोईकाको साझेदारीमा बुधबारदेखी शुरु भएको कार्याशाला गोष्ठिमा नीलकण्ठ नगरपालिकाको ६ वटा वडामा सञ्चालन भएको खानेपानी परियोजनाको लक्ष्य, प्रगति प्रतिवेदन र भौतिक संरचनाहरु लगाएतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले नगरपालिका र संस्थाको साझेदारीमा निर्माण भएका सबै खानेपानी आयोजनाको अनुगमनलाई ध्यान दिनुपर्ने बताउनुभएको छ।
नगरपालिकाको पहिलो प्राथमिकतामा खानेपानी, स्वास्थ्य, सडक र शिक्षा लाई रहेको भन्दै मेयर ढुङ्गानाले उक्त ६ वटा वडाको खानेपानी परियोजना सफल भएपछि नगरपालिकाभित्रको सम्पूर्ण वडालाई तिर्खामुक्त नगर बनाउने योजना रहेको बताउनुभयो।
सर्भिस फर पिस नेपाल धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका र कोईकाको साझेदारीमा नीलकण्ठ नगरपालिका वडा नं १ को ठाँटीखोला काउले खानेपानी आयोजना, वडा नं २ को झयापुङ खोला चैनपुर भुलभुले खानेपानी आयोजना, वडा नं ४ व्यापारी बगैँचा रिजालथोक खानेपानी आयोजना निर्माण भईरहेको छ।
यस्तै वडा नं ५ फयाक्से खानेपानी आयोजना, वडा नं ९ पाख्रिखोला पाल्पा खानेपानी आयोजना र वडा नं १० को चिसापानी भारमाले खानेपानी आयोजना निर्माण भईरहेको छ। उक्त खानेपानी परियोजनाबाट ६ सय ९४ घरधुरी र ९ वटा विद्यालय लाभान्वित हुनेछन् ।
सर्भिस फर पिसका केन्द्रिय महासचिव जिन्तु नकर्मी खनालको अध्यक्षतामा भएको कार्याशाला उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो।
कोइकाका प्रोजेक्ट म्यानेजर डा.साङयाङ् चोन,नेपाल बिद्युत प्राधिकरण धादिङका प्रमुख माधव नेउपाने,सर्भिस फर पिसका केन्द्रिय सदस्य शम्भु सिंह ठकुरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
२०६३ सालमा स्थापना भएको सर्भिस फर पिस नेपालले धादिङका विभिन्न स्थानमा सामाजिक गतिविधिहरु,पछाडी पारीएका समुदायका महिला तथा वालवालिका लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाले अहिले नीलकण्ठ नगरपालिका र कोईकाको साझेदारीमा नगरपालिका भित्रका विभिन्न स्थानहरुमा खानेपानीको समस्या समाधान गर्दै आएको छ ।