एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

दमौली (तनहुँ), ७ साउन
 जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१र८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो ।
केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि रु १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा रु सात लाख ४८ हजार खर्च भएको छ ।
यस कार्यक्रमअन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उहाँले तीन पोखरी र चार सिँचाइ ट्याङ्की निर्माण गरिएको बताउनुभयो ।
यसैगरी, केन्द्रले सोही आर्थिक वर्षमा १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएकामा रु १० लाख ४० हजार वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ ।
यस कार्यक्रममार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेष्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ ।
फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी रु ३० लाख बजेटमध्ये रु १३ लाख ५३ हजार खर्च भएको लामिछानेले जानकारी दिनुभयो ।
यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन् ।
सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ । यसका लागि रु ६० लाख बजेट रहेकामा रु ३९ लाख ८८ हजार खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्