धरान (सुनसरी), १६ कात्तिक
यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ ।
केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पुर्याएको जानकारी दिनुभयो । उहाँका अनुसार धानमध्ये राधाबार, बास्मतीलगायत जातका बालीमा बढी क्षति पुगेको छ ।
“अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी हावाहुरी र वर्षाले खेतमा लडाएको छ”, सिंहले भन्नुभयो, “अहिलेसम्म करिब नौ हजार ६०० हेक्टर क्षेत्रफलको धान मात्र काटिएको छ । बाँकी बाढी र निरन्तरको वर्षाका कारण कुहिने अवस्थामा पुगेको छ ।”
अहिले पनि वर्षा भइरहेकाले किसानले काटेर राखेको धान पनि उठाउन समस्या भइरहेको उहाँको भनाइ छ । “केही दिनमा घाम लाग्यो भने पानी सुकेपछि लडेको धान निकाल्न सकिन्छ, तर केही गुणस्तर भने घटेरै आउँछ, नभए त्यही कुहिएर जाने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।
रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफमा लगाउनुभएको धान वर्षाले पूरै नष्ट पारेको बताउनुभयो । उहाँका अनुसार वर्षाले खेतमा बाँकी रहेको धान पनि कुहिने अवस्था छ । “करिब १२ कठ्ठा जति धान खान वा गाईवस्तुलाई घाँसका रूपमा प्रयोग गर्न पनि नमिल्ने गरी क्षति भएको छ । दुई दिनको वर्षाले दुई लाखभन्दा बढीको नोक्सानी भयो”, उहाँले भन्नुभयो ।
घिमिरेले पाकेको धान केही काटेर राखेको भए पनि वर्षाले कुटेर क्षति पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत असोजमा आएको वर्षाले खासै नोक्सान गरेन, तर अहिलेको वर्षाले काटेको र काट्न बाँकी धान पूरै नष्ट गर्यो । रोपाइँका सकयमा पानीको अभाव भयो, डिप बोरिङमार्फत रोपेको धान पाक्ने बेला वर्षाले तहसनहस बनायो । हाम्रो जीविकापार्जन भनेकै खेती हो, अरु केही पेसा व्यवसाय छैन ।”
रामधुनीका किसान सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठाको धान बेमौसमी वर्षाले नष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो, सबै खेतमै लडायो । यही धान र तरकारी वर्षभरि खाने अन्नको व्यवस्थापन गर्छौँ, अब कसरी वर्षदिन गुजारा गर्ने भन्ने चिन्ता छ ।”
सुनसरीमा चार सय ५८ हेक्टरमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशतमा क्षति पुगेको कृषि ज्ञानमा केन्द्रका प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “कोदोको बोट अलिक होचो र बलियो हुने भएकाले कम क्षति भयो ।” आठ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख सिंहका अनुसार फलेका काँक्रो, परवल, बोडी, घिरौँलालगायत तरकारी तथा बिरुवा पनि नष्ट भएको छ । जिल्लामा ५३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको जनाउँदै उहाँले केही उखुखेतीमा समेत क्षति पुगेको बताउनुभयो ।
जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीखेतीमा क्षति पुर्याएको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सिंहका अनुसार अहिलेसम्म सङ्कलन भएको विवरणमा करिब रु दुई अर्ब ५० करोड बराबरको क्षति भएको छ । उहाँले भन्नुभयो, “सबै पालिकाबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ । यसका लागि सम्बन्धित निकायलाई विवरण सङ्कलनका लागि पत्राचार गरिसकिएको छ ।”

