वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ, १६ कात्तिक
 प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिनुभएको छ ।
निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न  निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आफ्नो कार्यकक्षमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निगमका विमानको नियमित मर्मतसम्भारलगायत काममा बेथिति रोक्ने, आर्थिक अनियमितता हुन नदिने, सुशासन कायम गर्न जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँले राजनीतिक दबाबमा नपरी काम गर्न निर्देशन दिनुभयो ।
निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम रु १७ अर्ब भन्दा बढीको सञ्चित नोक्सानीमा रहेको  जानकारी दिनुभएको थियो ।
त्यस अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्