अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी, २१ मङ्सिर
 धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ ।
यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिनुभयो ।
“सुरुङको आकार, हेड ९विद्युत्गृह र बाँधको उचाइ०, टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ”, उहाँले भन्नुभयो, “थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।”
यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ ।
अनुमानित लागत रु आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताउनुभयो । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी ९खारपानी० मा विद्युत्गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
विसं २०८१ फागुनदेखि तीन हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर ९नदी प्रभाहमा आधारित० हो ।
आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुछ्रे इञ्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुछ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ । वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ ।
आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पु¥याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।
क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि रु छ करोड ३४ लाख ९१ हजार बजेट प्रस्ताव गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिनुभएको थियो ।
पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उहाँहरुले सुझाव दिनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्