काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकोले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने उनले बताए ।
‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु । यहाँको संसद्मा दमदमाएर सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब,’ गगनले भनेका छन् ।
सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाउँदै उनले आगामी पाँच वर्षमा मधेशका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने बताए ।आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने जिकिर गरे ।

