काठमाडौँ, १६ चैत
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली जाति र नेपालीभाषीबीच आफू बसेकै देशमा नेपाली भाषा र संस्कृतिको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० को थाइल्याण्ड समिति गठन गरिएको छ ।
थाइल्याण्डको बैंकक सहरमा आइतबार आयोजित एएनओको भेलाले सो समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मेकी पाचौँ पुस्ताकी नेपाली मूलकी नागरिक अमरा राई चयन गरेको हो ।
थाइल्याण्डमै जन्मेका र पुस्तौँदेखि थाइल्याण्ड र बर्मामा बसोबास गरिरहेका नेपाली जातिका नागरिकहरुको सहभागितामा सम्पन्न सो भेलाले उक्त समितिमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरीलाई चयन गरेको छ ।
त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
एएनओका अन्तरराष्ट्रिय महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले कुनै पनि नेपाली मूलको मानिस नेपाल जाँदा अब विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था हालै मिलाएको जानकारी दिँदै यसबाट संसारभरका नेपालीले सम्मानित महसुस गरेका बताउनुभयो ।
कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा मोहन डाँगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताउनुभयो । बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्स्टिच्युडका अध्यक्ष डा खगेन्द्र ढकालले गैरआवासीय नेपाली सङ्घले तीन पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गर्नुभयो ।
थाइ नेपाली सङ्घका उपाध्यक्ष विनोद लामिछाने, गैरआवासीय नेपाली सङ्घ एशिया प्रशान्त क्षेत्रीय उपप्रमुख भविन्द्र बस्नेत, एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्य र प्राध्यापक भारती लिम्बूनीले थाइल्याण्डमा पनि नेपाली भाषा र संस्कृति विस्तारका लागि अर्को एक मञ्च बनेकामा खुसी व्यक्त गर्नुभयो ।
सो भेलामा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन एक र दुईमा थाइल्याण्ड र बर्माबाट सहभागी कलाकारहरुले पितृभूमि नेपालको सम्झनामा संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

