क्यालिफोर्निया, पुस १५
गुगलले कोरोनाविरुद्ध खोप नलगाएका आफ्ना कर्मचारीलाई जागिरबाट निकाल्ने धम्की दिएको छ।
सिएनबिसीद्वारा प्राप्त आन्तरिक जानकारीअनुसार गुगलका कर्मचारीले खोप नलगाए वा कोभिडका नियमहरु पालना गर्न असफल भएमा उनीहरुलाई जबरजस्ती बिदामा राखिने र पछि कम्पनीबाट निकाल्न समेत सकिन्छ।
गुगलले आफ्ना कर्मचारीलाई खोपको प्रमाण अपलोड गर्न वा चिकित्सा छुटको लागि स्वीकृत प्राप्त गर्न डिसेम्बर ३ सम्मको समय दिएको थियो। जनवरी १३ सम्म यीमध्ये कुनैपनि काम नगर्नेलाई तीस दिनको सशुल्क प्रशासनिक बिदामा राखिने कम्पनीले जनाएको छ।
यो नियम तीस दिनपछि पनि पालना नगरे कर्मचारीलाई छ महिनासम्म बेतलबी बिदा र त्यसपछि जागिरबाट निकालिने भएको हो।
अमेरिकी राष्ट्रपति बाइडेनले सबै नागरिकलाई कोरोनाविरुद्ध खोप अनिवार्य लगाउनु पर्ने नियम ल्याएलगतै कम्पनीहरुले आफ्ना कर्मचारीलाई कडाइका साथ नियमन गर्न लगाइरहेको छ।
खोप नलगाएका कर्मचारीका लागि भने गुगलले आफिस बाहिरका पदमा काम गर्ने सकिने विकल्प ल्याएको छ। अफिसभित्रै बसेर काम गर्ने कर्मचारीले भने खोप अनिवार्य लगाउनु पर्ने हुन्छ।
अहिले ओमिक्रोन भाइरसको जोखिमपछि गुगलले आफ्ना कर्मचारीलाई तत्कालै अफिस बोलाएको छैन। तर, कम्पनीले सबैलाई खोप लगाउन भने आदेश दिइरहेको छ।