तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो ।
साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न प¥यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन ।
त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो । ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।
परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ । एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।भने अनुसार नै सबै कुरा गर्नुभयो ।
साना किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना २२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे ।
यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे । एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए ।
काम भने चकलेट प्याक गर्ने हो भनेका थिए । यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए ।
त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो । साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’भिजिट भिसामा दुबईमा अलपत्र परेपछि भारतीय नागरिकले आफ्नो सामान भारत सम्म पु¥याए निशुल्क टिकट काटिदिने आश्वासन दिए ।
बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो ।‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’‘
उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो । सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए ।
‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह ग¥यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’‘
पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो । एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो ।
भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।
‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ। चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए ।उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए ।
उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए । त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।
सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।
त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।
आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ ।
आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन प¥यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ ।राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् ।
केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ ।भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।