नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।
मन्त्रालयका अनुसार लक्षित नागरिक समूहमध्ये खोपको एक मात्रा लगाउनेको सङ्ख्या एक करोड ५८ लाख ३७ हजार ६७१ रहेको छ । पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड २१ लाख २७ हजार ८२९ रहेको छ । पूर्ण मात्रा लगाउने ६० दशमलव ९ र एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ७९ दशमलव ५ प्रतिशत हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लक्षित वर्गका सबै नागरिकलाई खोप दिइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप सबै स्थानीय तहमा पठाएको जानकारी दिएको छ तर खोपको पहुँचभन्दा बाहिर रहने नागरिकको सङ्ख्या अहिलेसम्म पनि उल्लेख्य छ । स्थानीय तह र नागरिकबीच समन्वय अभाव हुँदा खोप लगाउन ढिलाइ भएको हो ।
खोपमा ढिलाइका कारण प्रस्ट पार्दै मन्त्रालयका प्रवक्ता डा. मिश्राले भन्नुभयो, “सबै नागरिकलाई खोप व्यवस्था गर्न सरकार प्रतिबद्ध छ तर स्थानीय तहमै पुगेको खोप पनि लगाउन सर्वसाधारण नआएका कारण ढिलाइ भएको हो ।” उहाँले भन्नुभयो, “माघ पहिलो सातादेखि बुस्टर डोज खोप लगाउने तयारी भइरहेको छ तर अहिले पनि पहिलो मात्रा नलगाउने पनि हुनुहुन्छ ।
सबैलाई आग्रह छ, खोप केन्द्रमा गएर खोप लगाउनूूस् ।” नेपालमा अहिले कोरोना भाइरसविरुद्धको करिब ९० लाख मात्रा खोप मौज्दात रहेको छ। स्वास्थ्य सेवा विभागका निर्देशक डा. रुद्र मरासिनीले भन्नुभयो, “केन्द्रको स्टोर, प्रादेशिक र स्थानीय तहको तथ्याङ्क हेर्दा अहिले झन्डै ९० लाख खोपको मात्रा मौज्दात रहेको देखिएको छ ।”–गोरखापत्र