चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा खसेकोसुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ ।गएराति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।
अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप अर्को डोजर पनि ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन–चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो ।
रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।
सडक खुलेपछि मात्रै यात्रामा निस्कन चितवनका एसपी ओम अधिकारीको आग्रह छ । सडकमा अहिले नै गाडीको लामो जाम भएकाले यसमा फेरि अन्य गाडी थपिँदा थप समस्या निम्तने भन्दै उहाँले सडक नखुलुञ्जेल यात्रा नगर्न अनुरोध गर्नु भएको हो ।