काठमाडौं, १४ माघ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसाे ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेकाे हाे । आजकाे बैठककाे एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेकाे छ ।
कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिकाे पदेन सदस्य हुनेछन् ।
अहिले कांग्रेसमा १४ जना पदाधिकारी छन् । यो समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने विधानमा व्यवस्था छ ।
तर, कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार भने छैन । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ ।
बैठककाे कार्यसूची तय नभए पनि स्थानीय तहकाे निर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो ।