धादिङमा ३९ हजार बढि मतदाता थपिएका छन्।विसं २०७५ वैशाखदेखि २०७८ माघ २४ गतेसम्म ३९ हजार ६८८ जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।
यो सँगै हाल जिल्लामा १ लाख ३९ हजार ४०० जना पुरुष, १ लाख ३३ हजार ७९२ जना महिला र तेश्रो लिङ्गी १ जना गरी जम्मा २ लाख ७३ हजार १९३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ। जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत २ लाख ३३ हजार ५०५ मतदाता थिए ।
धादिङमा आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो।यसैगरी आयोगले गत मंसिर १७ देखि पुस ८ गतेसम्म जिल्लाका १३ स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन कार्यक्रममा सञ्चालन गरेको थियो।
धादिङमा दर्ता भएको मतदाता नामावली दर्ता विवरण निर्वाचन आयोग पठाइएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो। आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने जनाएको छ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिसकेको छ ।
ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।
तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो ।माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष उमेर पुग्ने नागरिक मतदाता हुने निर्वाचन आयोगले जनाएको छ।