युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ ।हाल १९३ जना नेपाली सम्पर्कमा आएको बर्लिनमा रहेको नेपाली दूतावासले जनाएको छ। युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ ।
रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।
युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।
दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।
युक्रेनमा रहेका नेपालीको उद्धार गर्न सरकार अझै अलमलमा छ । भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरी उनीहरुलाई जम्मा गरिरहेको छ । तर नेपालले अहिलेसम्म ठोस निर्णय र कदम चालेको छैन ।परराष्ट्र मन्त्रालयले सम्भावित उपायको खोजी भइरहेको र रुस र जर्मनीमा रहेको दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।