धादिङको चर्चित गुप्तेश्वर गुफाको पाउमा स्थानीयले छाँगेश्वर महादेव मन्दिर निर्माण गरेका छन् । गल्छी गाउँपालिका–३ मा पर्ने कोर्थोक माथि रहेको गुप्तेश्वर गुफा धादिङकै चर्चित धार्मिक स्थल हो । यहाँ हरेक वर्ष शिवरात्रिको दिन मेला लाग्ने गर्दछ।
गुप्तेश्वर गुफाको फेदीमा रहेको छाँगेटारमा पर्ने छाँगे झर्ना नजिकै स्थानीयले मन्दिरको निर्माण गरेका हुन् ।मन्दिरमा पूजाआजा सुरु भइसकेको छ।
मन्दिर निर्माणको लागि गल्छी गाउँपालिकाले डेढ लाख, स्थानीयबाट चन्दा प्राप्त चार लाख ५० हजार र एक लाख बराबरको जनसहभागिता रहेको स्थानीय रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि स्थानीय शारदादेवी खतिवडाले जग्गा दान दिएकी हुन् । छाँगे झरनामा वर्षमा ६ महिना पर्यटकहरूको भीड लाग्ने गरेको छ।