धादिङ,०२ चैत।
जिल्ला प्रशासन कार्यालय धादिङले होली अर्थात (फागुपूर्णिमा) मर्यादित रुपमा मनाउन सबैमा अनुरोध गरेको छ ।
आज बुधबार एक सूचना जारी गर्दै धादिङ प्रशासनले होली पर्व मनाउने क्रममा इच्छा विपरित रंग तथा विषालु पदार्थहरु दल्ने, लोला हान्ने,बनटे हिँड्ने बटुवाहरुलाई संग दल्ने वा लोला हान्ने, हो–हल्ला गर्ने एवम बाटो अबरोध गरी सवारी साधनहरुबाट रकम असुल गर्ने जस्ता अवान्छित र गैर कानुनी क्रियाकलापहरु नगर्नु÷नगराउन अनुरोध गरेको हो।
साथै कोरोना भाइरसको जोखिम कायमै रहेको कारण सार्वजनिक स्थानहरुमा धेरै मानिसहरु स्वास्थ्य सुरक्षा मापदण्ड विपरित जम्मा नभई सभ्य तरिकाले होली पर्व मनाउन सबैलाई आग्रह गरेको छ।कोही कसैले उल्लेखित कानुन विपरितको कार्य गरेमा कानुन बमोजिम कारबाही हुने सूचनामा भनिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले पनि होली पर्व मर्यादित रुपमा मनाउन आग्रह गरेको छ ।प्रहरीले यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने,मादक पदार्थ सेवन गरी हुलहुज्जत तथा झैझगडा गरेको पाइएमा तुरुन्त जिल्ला प्रहरी कार्यालय धादिङको १०० वा ९८५१२८३४८० मा जानकारी गराउन समेत अपिल गरेको छ ।
होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।यसबर्ष भोलि ३ गते बिहीबार पहाडी जिल्लामा र पर्सि ४ गते शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।