काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखिनै सुरुगर्ने तयारी थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको प्रभावसँगै लामो समयदेखि ठप्प रहेको फुटबल गतिविधि सरकारको पछिल्लो निर्णय अनुसार सुरुहुन लागेको हो ।
कोरोनाको संभावित संक्रमण हुन नदिन सरकारले २०७६ चैत ११ देखि लकडाउन सुरुगरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण रोकिएको थियो भने अन्य बिभिन्न फुटबल गतिविधि पनि ठप्प थिए, तर सरकारले लकडाउन खोलेपछि फुटबलको प्रशिक्षण सुरुगर्ने मौका मिलेको छ ।
‘सरकारले लकडाउन खोलेसँगै हामी पहिलो चरणमा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरुगर्ने तयारीमा लागेका छौँ’, एन्फा प्रवक्ता किरण राईले भने, ‘भदौ १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरुहुनेछ ।’
एन्फाले अभ्यासका लागि यही साउन १७ गते सम्ममा सबै खेलाडीलाई काठमाण्डौ आईपुग्न भनेको छ । खेलाडीहरु काठमाण्डौं आएपछि कम्तिमा २ साता उनीहरुले गुप्तवासमा बिताउनेछन् ।
“लकडाउनपछि धेरै खेलाडीहरु काठमाण्डौ बाहिर छन् । हामीले सबैलाई १७ गतेभित्र काठमाण्डौ आउन भनेका छौँ । उनीहरु आएपछि स्वास्थ्य परिक्षण गर्ने, क्वारेनटाईन राख्ने र त्यसपछि अभ्यासमा उत्राते योजना छ ।” राईले मेरो खेलसँग भने ।
राईका अनुसार एन्फाले साउन २९ भित्र खेलाडीहरुको स्वास्थ्य परिक्षण लगायतका काम सम्पन्न गर्ने योजना बनाएको छ ।
खेलाडीहरु काठमाण्डौ आएपछि एन्फाले उनीहरुलाई होटलमा राख्नेछ । त्यसपछि सबै खेलाडीको पिसिआर परिक्षण हुनेछ । त्यो बेलासम्ममा फुटबलको प्रशिक्षण हुने स्थल सातदोबाटोस्थित एन्फाको होस्टलमा पनि स्यानिटाईज सम्पन्न गर्ने योजना छ ।
‘त्यसपछि बल्ल प्रशिक्षणको बाटो सहज हुनेछ’, प्रवक्ता राईले भने, ‘सम्भवत खेलाडीहरु २९ गतेदेखि क्याम्पमा बस्ने छन् र भदौको १ गतेदेखि प्रशिक्षणमा उत्रनेछन् ।’
यस्तै एन्फाले मुख्य प्रशिक्षक योहान कालिनलाई नेपाल झिकाउने तयारी पनि थालेको छ । कालिनलाई नेपाल बोलाउने अफिसियल प्रकृया सुरुभएको राईले जानकारी दिए ।
नेपालले २०२२ को कतार विश्वकप र २०२३ को एएफसी एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गतका घरेलु प्रतियोगिता खेल्न बाँकी छ । अक्टोबर–नोभेम्बरमा घरेलु मैदान दशरथ रंगशालामा नेपालले खेल्ने तालिका छ । नेपालले अब चाइनिज ताईपे, अष्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ । चार घरेलु खेल मध्धे कुवेतविरुद्धको खेल भने दशरथ रंगशालाको निर्माण कार्य पुराहुन नसकेपछि यसअघिनै भुटानमा खेलिसकेको छ । छनोटमा नेपालले अहिले सम्म १ खेल (चाइनिज ताईपेविरुद्ध २–०ं) मा मात्र जित निकालेको छ ।
सरकारले मंगलबार १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्दै अन्र्तराष्ट्रिय खेलको प्रशिक्षणका लागि अनुमती दिएको थियो । सरकारको अनुमतीसँगै एन्फालाई राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने बाटो खुलेको हो । लकडाउन जारीरहँदा पनि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरुगर्ने योजना बनाएको थियो, तर सरकारले अनुमती नदिँदा योजना पुराहुन सकेको थिएन ।मेरोखेल


 
		 
			 
                             
                             
                             
                             
                            