सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गरेको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गरिएको हो ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्वमा विभिन्न पाँच समितिको गठन गरेको छ ।
कांग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ।
त्यसैगरी, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई मनोनित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।