धादिङ,२७ चैत।
आज रामनवमी पर्व, प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्वमा आज धादिङसहित देशभरका राम मन्दिरमा पुजाआजा गरी मनाईएको छ।
बिहानैदेखि राम मन्दिरमा भक्तजनको भीड लागेको थियो । धादिङको भ¥याङभुरुङ लगाएत जिल्लाको अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो। रामनवमीको अवसरमा सरकारले देशभर सार्बजनिक बिदा समेत दिएको थियो। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका थिए ।
‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेका थिए । यसैले उनलाई अहिले पनि आदर्श राजाका रुपमा स्मरण गरिन्छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ ।
आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको उनले सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेका उनले शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।
सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्मलिएका हुन् । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको हो ।