एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

काठमाडौं, ११ वैशाख। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे । 

सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा हुने पक्का भयो । जसअन्तर्गत १० चैतबाट सुरु भएको पहिलो चरण ३० चैतमा सम्पन्न भयो । 

यसपछि दोस्रो चरण पूर्वी नेपाल पुग्ने गरि महिला लिगले विश्राम पायो । तर, विश्राम समयमा समेत सुदूरपश्चिमको कैलाली, धनगढीमा महिला गोल्डकप हुने भयो । धनगढी रंगशालामा आयोजना भएको पहिलो मुख्यमन्त्री विवाइसी गोल्डकप शनिबार (हिजो) समाप्त भयो । 

चिरपरिचित विभागीय टोली एपीएफ फुटबल क्लबको घरेलु फुटबलमा रहेको दबदबा तोड्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले उपाधिसमेत जित्यो । तर, महिला लिग सकिएको १२ दिन भइसक्दासमेत दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन । 

एन्फाको चार वर्षे कार्यकालका लागि तय ६ असारको चुनाव र स्थानीय तहको चुनाव (३० वैशाख) का कारण महिला लिगलाई प्रत्यक्ष असर गरेको छ । एकातिर एन्फा चुनावका लागि दौडधुप र अर्का तिर आयोजना गर्ने भनेको स्थानीय सरकारको मौनताका कारण महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन । 

‘हाम्रो योजनाअनुसार १५ वैशाखबाट दोस्रो चरण सुरु गर्ने हो । तर, योजनाअनुसार काम हुन पाएको छैन,’ एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का भन्छन् । खड्का अनुसार यही सोमबार र मंगलबार दोस्रो चरणको बारेमा बैठक बस्दै छ । सोही बैठकले आगामी लिगको मिति र तालिका सार्वजनिक गर्नेछ ।  

यही बीचमा एन्फाअन्तर्गत रहेका रेफ्री संघ र महिला संघको समेत चुनाव हुँदा महिला लिग प्रभावित बनेको स्रोत बताउँछ । यस्तै स्थानीय आयोजकले चुनावका कारण आयोजनालाई मध्यनजर नगर्दा प्रतियोगिता थकेलिने अवस्थामा पुगेको हो । 

‘एन्फाको महिला संघ र रेफ्रीसंघ चुनावका कारण पनि प्रभावित भएको हो । अहिले सबै यतै (उपत्यका) मा व्यस्त छन् । अर्काे भनेको स्थानीय चुनावका कारण स्थानीय आयोजकले तीव्रता नदिँदा र ‘ओके’ नभनेकाले प्रतियोगिताको अन्योलता थपिएको हो,’ एन्फा स्रोत भन्छ । 

हाल सी र बी डिभिजन मताधिकार र प्रतिनिधि छनोटसँगै जिल्ला निर्वाचन भइरहेको छ । अधिकांश जिल्लाको चुनाव सकिँदा केही विवादमुक्त हुन नसकेका जिल्लाको चुनाव भने बाँकी नै छ । 

यस्तै प्रशिक्षक संघले सर्वसम्मतमा अध्यक्ष पाउँदा, महिला, रेफ्री र खेलाडी संघले समेत सर्वसम्मतमा अध्यक्ष पाउने निश्चित छ । तर शीर्ष पदाधिकारीदेखि नै महिला संघ, महिला कमिटी, रेफ्री संघ चुनावी माहोलमा उत्रिँदा महिला लिगको दोस्रो चरण अनिश्चित बनेको छ । 

यसअघि शारदानगरमा भएको महिला लिगमा सात चरणका खेल सकिएका छन् । जहाँ २८ खेल हुँदा दुई आत्माघाती र ६ ह्याट्रिक सहित १२५ गोल भए । आठ टिम सहभागी लिगमा चोटबाट रिकवरी हुँदै मैदान फर्किएकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) १४ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्